५३ लाखबाट १६ अर्बको यात्रा, निरन्तर नाफामा डाबर नेपाल

<p>काठमाडौं । विभिन्न कम्पनीहरुले व्यापार नभएको गुनासो गर्दै नोक्सानमा भएको बताइरहँदा डाबर नेपालले भने आकर्षक आम्दानी गरेको देखिएको छ । डाबर नेपाललले सन् २०२४ मा राम्रो व्यापार गरेर उच्च नाफा गर्न सफल भएको छ । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले सन् २०२४ मा १६अर्ब १६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन सन् [&hellip;]</p>

काठमाडौं । विभिन्न कम्पनीहरुले व्यापार नभएको गुनासो गर्दै नोक्सानमा भएको बताइरहँदा डाबर नेपालले भने आकर्षक आम्दानी गरेको देखिएको छ । डाबर नेपाललले सन् २०२४ मा राम्रो व्यापार गरेर उच्च नाफा गर्न सफल भएको छ ।

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले सन् २०२४ मा १६अर्ब १६ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन सन् २०२३ को तुलनामा १८.७२ प्रतिशत बढी हो । सन् २०२३ मा यस कम्पनीको कुल सञ्चालन आम्दानी १३ अर्ब ६१ करोड ५० लाख र सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँ थियो । सन् २०२४ मा कम्पनीको व्यवसायमा राम्रो सुधार भएको देखिन्छ ।

आम्दानीसँगै कम्पनीको नाफा मार्जिनमा पनि राम्रो सुधार देखिएको छ । सन् २०२२ मा १३.५४ प्रतिशत रहेको नाफा मार्जिन, सन् २०२३ मा १३.८८ प्रतिशत र सन् २०२४ मा १६.९७ प्रतिशत रहेको छ । कम्पनीको ऋण अनुपात पनि स्थिर रहेको देखिन्छ । हाल सो अनुपात ०.१४ रहेको छ । ब्याज भुक्तानी गर्न सक्ने क्षमता पनि मजबुद रहेको छ भने ऋण÷नगद आम्दानी अनुपात पनि सकारात्मक देखिन्छ ।

यस्तै, कम्पनीले ६ अर्ब ६० करोड रुपैयाँ ऋणको रेटिङ पनि गरेको छ । त्यसका लागि ए वान प्लस रेटिङ पाएको छ ।

बुहराष्ट्रिय कम्पनीहरुमध्ये डाबर नेपाल नेपालमा सबैभन्दा सफल कम्पनीका रुपमा परिचित छ । डाबर सन् १९८९ मा नेपालमा व्यवसाय प्रवेश गरेको यस कम्पनीले सन् १९९२ बाट औपचारिकरुपमा उत्पादन सुरु गरेको थियो ।

नेपालमा ८ करोड रुपैयाँबाट सुरु भएको यो कम्पनीले पहिलो वर्ष ५३ लाख रुपैयाँको कारोबार गरेको थियो भने अहिले वार्षिक १६ अर्ब आम्दानी गर्ने स्थितिमा पुगेको छ । यो कम्पनी सरकारबाट बढी कर तिर्ने कम्पनीका रुपमा पनि सम्मानित भइसकेको छ भने यसले हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पनि दिएको छ ।

नेपालबाट भारतमा सबैभन्दा बढी निर्यात गर्ने बहुराष्ट्रिय कम्पनीका रुपमा डाबर नेपाल परिचित छ । डाबर नेपालमा डाबर इन्डिया लिमिटेडको ९७.५ प्रतिशत र नेपालमा स्व. रुक्मशमशेर राणा परिवारको २.५ प्रतिशत लगानी छ । उनै स्व रुक्मशमशेर राणाले डाबरलाई नेपालमा भित्र्याएका हुन् ।

डाबरका उत्पादनहरूमा फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी)मा प्याकेज फुड तथा बेभरेज, पर्सनल केयर, होम केयर, हेल्थ केयर, आयुर्वेदिक फर्मुलेसनलगायत रहेका छन् । डाबरले एक दर्जन बहुराष्ट्रिय ब्रान्डहरू नेपालमा उत्पादन गर्दै आएको छ ।

डाबर नेपालले फ्रुट जुस, बेभरेज, टेस्ट मेकर्स, फुड प्रडक्ट, हेल्थ केयर प्रडक्ट, पर्सनल केयर प्रडक्ट, हाउस केयर प्रडक्ट, आयुर्वेदिक प्रडक्ट उत्पादन तथा बिक्री-वितरण गर्दै आइरहेको छ । कम्पनीले डाबर च्यावनप्रास, डाबर रियल जुस, डाबर टुथ पेस्ट, डाबर ग्लकोज, डाबर हनी, पाचन चुर्ण, हाजमोला क्यान्डी, हनिटस, हाजमोला ट्याबलेट, टुथ पाउडर, हेयर आयल, क्रिम बेस्ड प्रडक्ट, साबुन, स्याम्पु, रोज वाटर, एयर फ्रेसनरलगायत उत्पादन गर्दै आइरहेको छ ।

Share News