काठमाडौं । शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ।
उनका अनुसार बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ । ‘मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामको पानी ल्याएर काठमाडौँका उपभोक्ताको आवश्यकता पूरा गरेका थियौँ’, लामिछानेले भने,‘आगामी वर्षामा पनि धाप ड्यामको पानी ल्याएर वितरण गर्नेछौँ ।’
वाग्मती सुधार आयोजनाका उपआयोजना निर्देशक एवं सूचना अधिकृत उद्धव नेपालले नदीमा पानीको बहाव बढाउन र बर्तालुलाई स्नानका लागि सहज बनाउन मेलम्चीसँग पानी सापटी लिइएको जानकारी दिए ।
‘शिवरात्रि, छठजस्ता विषेश दिनमा हामीले ड्यामको पानी वाग्मतीमा छोड्दै आइरहेका थियौँ’ उनले भने, ‘यसपटक शिवरात्रिमा ड्यामको पानी परीक्षण गर्न बाँकी भएकाले आगामी वर्षामा मेलम्ची खानेपानी आयोजनालाई ड्यामको पानी दिने गरी सापटी गरेका हौँ ।’
धाम ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेण्ड चार सय प्रतिलिटरका दरले वाग्मतीमा छोड्ने आयोजनाको लक्ष्य छ । रासस