काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशन एक्स्पोमा कृषि उद्यमीहरू खुशी देखिएका छन् । शुक्रबारदेखि जारी एक्स्पोमा विभिन्न स्टलमार्फत आफ्ना उत्पादनले बजार पाएपछि कृषि उद्यमीहरू उत्साहित भएका हुन् ।
सोलुखुम्बुका कृषक तिलकबहादुर राईले आफ्ना कृषि उत्पादन बिक्री गर्न प्रधानमन्त्री कृषि आधुनिक परियोजनाले सहजीकरण गरेको बताए । उनका अनुसार, किसान आफैँ उपभोक्तासँग साक्षात्कार गरी वस्तु बिक्री गर्दा नाफा सीधै किसानलाई पुगेको छ । उनले भने, ‘सोलुखुम्बुमा अन्तको व्यापारी आएर किनेर लग्थेँ, तर अहिले प्रधानमन्त्री परियोजनाले सहजीकरण गरेको छ र हामी आफैँ बेच्न आउँदा नाफा सीधै किसानलाई जान्छ ।’
तामाकोशी एण्ड रिसर्च प्रालिका हिरालाल श्रेष्ठले मेलामा रामेछापको जुनारले राम्रो बजार पाएको बताए । उनले जुनार टिप्दा सावधानी अपनाउन नसक्दा चोट लाग्ने र नेपालको जुनार कमजोर छ भन्ने गलत सन्देश बजारमा गइरहेको पनि उल्लेख गरेका छन् । श्रेष्ठले उत्पादित वस्तुको गुणस्तर कायम राख्न राज्यले प्रविधिमा जोड दिनुपर्ने बताए । उनले भने, ‘रामेछापमा उत्पादित जुनारको बजार राम्रै छ । सिन्धुली र रामेछाप जुनारका लागि हब भएका छन् । किसानलाई प्रविधि दिनु आवश्यक छ ताकि गुणस्तर कायम गर्न सकियोस् ।’
प्रधानमन्त्री कृषि आधुनिक परियोजनाका बरिष्ठ कृषि इन्जिनियर डा. जित चन्दले परियोजनाकै कारण नेपालमा कृषि यान्त्रिकीकरणको बहस गाउँसम्म पुगेको दाबी गरे । उनले परियोजनाको नौ वटा रणनीतिअनुसार काम भइरहेको र कृषि यान्त्रिकीकरण मुख्य रणनीति रहेको सुनाए ।
च्याउ उत्पादन किसान संघका सहअध्यक्ष तथा गोकर्णेश्वर च्याउ समूहका अध्यक्ष सिताराम तिम्सिनाले नेपालमा ३५ हजार व्यक्ति प्रत्यक्ष रुपमा च्याउ उत्पादनको रोजगारमा जोडिएको बताएका छन् । उनले घरमै पनि च्याउ उत्पादन गरेर खान सकिने उल्लेख गर्दै भने, ‘यस्तो मेलाले कृषि उत्पादनहरूलाई बजारीकरण गर्न राम्रो फाइदा पुग्छ र हामी सीप तथा प्रविधि हस्तान्तरण पनि गर्छौं ।’
मिडिया स्पेस सोलुसन प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले मेलाले नेपालमा उत्पादित कृषि उपजलाई विदेश पठाउन योग्य कसरी बनाउन सकिन्छ भनेर अभ्यास गरिरहेको भनेका छन् । यस्ता मेला आयोजना गर्दा कृषि उद्यमीलाई फाइदा पुग्नुका साथै उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन बाटो खुल्ने उनको तर्क छ ।
भृकुटीमण्डपमा जारी सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशन एक्स्पोले उत्पादित वस्तुको बजारीकरण गर्नुका साथै सीप तथा प्रविधिसमेत हस्तान्तरण गर्ने भएकाले किसान तथा कृषि उद्यमीका लागि राम्रो अवसर हुने देखिएको छ । मेला आज साँझसम्म मात्रै सञ्चालन हुनेछ ।