गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएको हो ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक सूचना जारी गर्दै आजदेखि आगामी फागुन २० गतेसम्म सडक बन्द गरिएको जनाएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका निमित्त योजना प्रमुख हुमनाथ पौडेलले जोखिम हुनसक्ने भएकाले केही समय वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे ।
सडक बन्द भएपछि कार्यालयले वैकल्पिक मार्गका रुपमा सातमुरेदेखि–श्रृङ्गा बलेटक्सारहुँदै रिडी, सातमुरदेखि–सिजिको बाटोहुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि–ठाडो खोलाहुँदै रिडी सडक प्रयोगमा ल्याएको छ ।