
काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)का चारजना नयाँ कोरियन ओभरसिज भोलुन्टियर (केओभी) हरू नेपाल आएका छन् ।
उनीहरू सोमबार काठमाडौं उत्रिएका हुन् र फेब्रुअरी २६ देखि आफ्नो जिम्मेवारी सुरु गर्ने कोइकाले जनाएको छ।
स्वयंसेवक युवङ आ म्याङ्गलाई कैलालीको धनगढीस्थित हिमालयन स्पेशल स्कुल फर अटिज्म एण्ड रिह्याबिलिटेसन सेन्टरमा विशेष शिक्षा क्षेत्रमा खटाइने जनाइएको छ ।
यसैगरी, डाल सम हङलाई इलामको सुर्योदय नगरपालिकामा पर्यटन क्षेत्रमा खटाइने र तेक्यु आनलाई कास्कीस्थित नेपाल रेडक्रस सोसाइटी (प्रादेशिक रक्तसञ्चार सेवा) मा खटाइनेछ ।
त्यसैगरी हाउने किमलाई बागलुङस्थित धौलागिरी प्रादेशिक अस्पतालमा नर्सिङ क्षेत्रका लागि खटाइने जनाइएको छ ।
कोभिड-१९ को प्रकोपपछिको समयमा कोइकाले आफ्नो केओभी कार्यक्रम २०२१ डिसेम्बरमा पुनः सुरु गरेको थियो । त्यसयता विभिन्न क्षेत्रहरूमा नेपालमा २१ जना केओभी खटाइसकिएको छ ।
स्वयंसेवीहरूले काठमाडौंमा एक महिनाको स्थानीय अनुकूलन तालिममा भाग लिनेछन्, जसमा नेपाली समाज, संस्कृति, परम्परा, र भाषासम्बन्धी ज्ञान प्राप्त गर्नेछन् । यस्तो अनुकूलन तालिमले उनीहरूलाई सम्बद्ध समुदाय/संस्थामा सहज रूपमा घुलमिल हुन र नेपाली वातावरणमा परिचित हुन मद्दत पुर्याउनेछ ।
केओभी कार्यक्रमको उद्देश्य कोरियन ज्ञान र अनुभवलाई सिधै आधारभूत तहमा स्थानान्तरणमा केन्द्रित छ । यस्ता कार्यक्रमहरूले साझेदार देशका जनताको जीवनस्तर सुधार गर्न, कोरिया र साझेदार देशहरूबीचको मित्रता र आपसी समझदारी सुदृढ गर्न, र अन्तर्राष्ट्रिय समुदायद्वारा निर्धारण गरिएका विकास लक्ष्यहरू हासिल गर्ने प्रयासमा सहयोग पुर्याउन लक्षित छन् ।
१९९० देखि कोइका स्वयंसेवीहरू नेपाल सरकारको अनुरोध र आवश्यकताअनुसार काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न सरकारी संस्थाहरूमा खटाइएका छन् ।