प्यूठान । प्यूठानको पुण्यखोलामा आयोजित परम्परागत डल्ले सरायँ नाच प्रतियोगितामा खैरा समूह प्रथम भएको छ । भाइटीकाको भोलिपल्ट आयोजित प्रतियोगितामा सापडाँडा समूह द्वितीय र पाण्डेडाँडा सरायँ समूह तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम भएको खैरा समूहले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, द्वितीय भएको सापडाँडा समूहले ७५ हजार र तृतीय भएको पाण्डेडाँडा सरायँ समूहले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
प्रतियोगितामा सहभागी अन्य समूहलाई पनि प्रोत्साहनस्वरूप २० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको प्यूठान नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष सुमनराज श्रेष्ठले जानकारी दिए ।
यस वर्षको प्रतियोगितामा सात समूहले सहभागिता जनाएका थिए । ढोल र मादलको तालमा हातमा तरबार लिएर ‘वाख्खै वाख्खै‘ को परम्परागत भाकामा प्रस्तुत गरिएको सरायँ नाचले पुण्यखोलाको फाँटलाई सांस्कृतिक उत्सवमय बनाएको थियो। प्रतियोगितामा युवादेखि वृद्धसम्मको सहभागिता रहेको थियो ।
प्यूठानको डल्ले सरायँ स्थानीय इतिहास, लोकविश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परागत नाच हो। स्थानीय बुढापाकाहरूका अनुसार भित्रिकोटका तत्कालीन अलोकप्रिय राजालाई पदच्युत गरी डल्लेको फाँटमा ल्याएर मारेपछि त्यसको खुसीयालीमा तरबार नचाउँदै ‘वाख्खै’ भनेर उत्सव मनाउने परम्परा सुरु भएको हो।
स्थानीय लोकश्रुतिअनुसार तेह्रौँ शताब्दीको अन्त्यतिरदेखि प्रचलनमा रहेको मानिने यो सरायँ नाच पुस्तौँदेखि निरन्तर चल्दै आएको छ। देशमा संकटकाल लागू भएका बेला र सशस्त्र द्वन्द्वको समयमा समेत मेला नरोकिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।
विसं २०७० देखि डल्ले सरायँलाई प्रतियोगितात्मक रूपमा सञ्चालन गर्न थालिएको हो। यसको संरक्षण र प्रवर्द्धनका लागि प्यूठान नगरपालिकाले वार्षिक पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ। नगरपालिकाले डल्ले सरायँलाई स्थानीय पाठ्यक्रममा समेत समावेश गरेको छ।
नगरपालिकाले यस मौलिक सांस्कृतिक परम्परालाई सांस्कृतिक पर्यटनको आकर्षणका रूपमा विकास गर्ने नीति लिएको प्रवक्ता श्रेष्ठले बताए।