काठमाडाैं । नेपाल राष्ट्र बैंकले महँगी अझै बढ्ने अनुमानग गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षामा महँगी अझै बढ्न सक्ने आँकलन गरिएको छ ।
विशेषगरी, भारतमा खाद्य बस्तुको महँगी बढेको र विश्वमा भइरहेको विभिन्न युद्धका कारण महँगी अझै बढ्न अनुमान सक्ने राष्ट्र बैंकले गरेको छ ।
भारतमा खाद्य समूहको मुद्रास्फीति उच्च रहेको अवस्थामा मध्यपूर्वी एशियाली मुलुकमा विद्यमान भू-राजनीतिक तनाव तथा थप जटिल हुँदै गएको रुस-युक्रेन युद्धका कारण आपूर्ति श्रृंखलामा व्यवधान पुग्नसक्ने र यसबाट उपभोक्ता मूल्यमा चाप पर्नसक्ने जोखिम भने यथावत रहने समीक्षामा उल्लेख छ ।
यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रयमाससम्म मुद्रास्फीति लक्षित सीमाभित्र रहेको छ । भारतमा पछिल्लो समय खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई विगत दुई महिनादेखि समग्र मुद्रास्फीति बढेको छ ।
अधिकांश केन्द्रीय बैंकहरुले नीतिगत दर घटाउन सुरु गरेको अवस्थामा समेत मुद्रास्फीतिमा चाप कायम रहेको कारण भारतीय रिजर्भ बैंकले नीतिगत दरलाई यथावत राखेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहन गई गैर-खाद्य समूहको मूल्यमा भने थप चाप नपर्ने अनुमान छ ।
यस पृष्ठभूमिमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक औसत मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र रहने अनुमान राष्ट्र बैंकले गरेको छ ।