
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ । फाइल तस्बिर ।
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सञ्चारमाध्यममा आफ्नाे चरित्र हत्या गर्ने प्रयास भएकाे बताएका छन् ।
उनीमाथि मितेरी बचत तथा ऋण सहकारी संस्थाकाे रकम नतिरेकाे आराेप छ । साेही विषयमा आधारित भएर विभिन्न सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए । उपसभापति गुरुङले विज्ञप्ति जारी गर्दै कपाेकल्पित अनि भ्रामिक समाचारकाे पछि नलाग्न आग्रह गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पूर्वकानुनमन्त्रीसमेत रहेका गुरुङविरुद्ध उजुरी परेको हो ।
उपसभापति गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले उजुरी दिएका हुन् ।
सीआईबीका अनुसार धनराज र उनकी पूर्व श्रीमती (हाल सम्बन्धविच्छेद) ज्योति गुरुङले १४ करोड ८१ लाख रुपैयाँ नतिरेको भन्दै उजुरी परेकाे हाे ।
मितेरी बचत तथा ऋण सहकारी संस्थाको पूर्व सञ्चालकसमेत रहेकी ज्योति भने हाल फरार छिन् ।
विज्ञप्तिमा गुरुङले २०७६ फागुन २९ गते पूर्व-श्रीमतीसँग सम्बन्ध विच्छेद गरेकाे र त्यसयता कुनै पनि सम्बन्ध नरहेकाे जिकिर गरेका छन् ।
साथै उनले सहकारी ठगीकाे विषयमा सत्य तथ्य अनुसन्धान गर्न सम्बन्धित निकायकाे ध्यानाकर्षण पनि गराएका छन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएकाे छ । उक्त समितिकाे नेतृत्व नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले गरेका छन् ।