काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका सञ्चालकहरूसँग बयान लिएको छ । समितिले हाल जेलमा रहेका सञ्चालकहरुलाई सिंहदरबारमा बोलाएर बयान लिएको हो ।
विभिन्न सहकारीको अर्बौं बचत ठगेको आरोपमा हाल जेलमा रहेका उनीहरुलाई गृह मन्त्रालयको सहयोगमा बयान लिइएको समितिका सभापति सुर्य थापाले बताए ।
सभापति थापाका अनुसार शिवशिखर बहुउद्देश्यीय संस्थका पूर्व केदार शर्मा र उनकी श्रीमती गिता शर्मा, पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा र श्री लालिगुराँस सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको बयान लिइएको हो ।
यस्तै, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बाको पनि समितिले बयान लिएको छ । लामालाई केन्द्रीय कारागार जगन्नाथ देवल र सुब्बालाई नख्खु जेलबाट बैठकमा झिकाइएको थापाले जानकारी दिए ।
यस्तै, गिता शर्मालाई केन्द्रीय कारागार जगन्नाथ देवल र केदारनाथलाई नख्खु जेलबाट झिकाएर बयान लिइएको हो । विशेष समितिको कार्यविधिअनुसार उनीहरुसँग बयान लिइएको थापाले जानकारी दिए ।
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सुरेन्द्र भण्डारीसहित चार जना पक्राउ भएका थिए । प्रहरीले सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरेको थियो । भण्डारीबाहेक अन्य धरौटीमा छुटिसकेका छन् ।
यस्तै, कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष लामा गत जेठमा पक्राउ परेका थिए । हाल उनी पनि जेलमै छन् । उनले ८ अर्ब बढी रकम ठगेको आरोप छ ।
यस्तै, हाल पुर्पक्षका लागि जेलमा रहेका शिबशिखरका पूर्व अध्यक्ष केदार शर्मा र उनकी श्रीमतीले पनि सहकारीको १४ अर्ब रुपैयाँ ठगेको आरोप बचतकर्ताको छ । समितिलिे उनीहरुसँग सहकारीको रकमको विषयमा सोधपुछ गरेको जानकारी दिएको छ । उनीहरुले सकेसम्म चाँडै बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गरेका छन् ।
समितिका अनुसार आफूहरु पक्राउ नभएको भए हालसम्म बचतकर्ताको बचत तिरिसक्ने र सबै रकम तिर्न नसके पनि अधिकांशको समस्या समाधान गर्न तर्फ आफूहरुले लागेको हुने धारणा राखेका छन् ।
सम्बन्धित सामग्री : सहकारी ठगी : समितिले जेलमा रहेका भीआईपी सञ्चालकसँग छलफल गर्ने, ‘फरारहरु पनि सम्पर्कमा’