लगानीकर्ताले सेयर बेचेर सुन किनिरहेका हुन् ?

<p>काठमाडौं । दिनप्रतिदिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बन्दैछ । दैनिक मूल्य बढ्दा धेरैलाई सुनप्रति आकर्षण बढिरहेको छ । धेरैले अब सुनको मूल्य २ लाख पुग्ने तर्क पनि दिइरहेका छन् । यही प्रसंग कोट्याउँदै एक जना सेयर लगानीकर्ताले भने, ‘अब सेयर बेचेर सुन किन्छु,’ पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला साढे ६ हजार रुपैयाँ बढिसक्यो, [&hellip;]</p>

काठमाडौं । दिनप्रतिदिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बन्दैछ । दैनिक मूल्य बढ्दा धेरैलाई सुनप्रति आकर्षण बढिरहेको छ । धेरैले अब सुनको मूल्य २ लाख पुग्ने तर्क पनि दिइरहेका छन् ।

यही प्रसंग कोट्याउँदै एक जना सेयर लगानीकर्ताले भने, ‘अब सेयर बेचेर सुन किन्छु,’ पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला साढे ६ हजार रुपैयाँ बढिसक्यो, एक वर्षअघि आजकै दिन प्रतितोला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ थियो, त्यतिखेर सुन किनेको थिएँ भने आज २४ हजार रुपैयाँ फाइदा हुन्थ्यो । तर, सेयर भने घटेको घट्यै छ ।’

उनले अझै हतार महसुस गरेका छैनन् । ढिलै भए पनि आफूसँग भएको सेयर बिक्री गरेर सुन खरिद गर्ने योजनामा उनी छन् । उनले बजारमा सुनको मूल्य छिट्टै २ लाख रुपैयाँ पुग्ने हल्ला रहेकोले अब सुन खरिद गर्ने योजना सुनाए ।

बुधबारको तथ्यांक हेर्ने हो भने सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

ती सेयर लगानीकर्ताले जनेजस्तै के अहिले सेयर लगानीकर्ता आफूसँग भएको सेयर बिक्री गरेर सुनमा लगानी बढाइरहेका हुन् त ? यो जिज्ञासा हामीले सेयर लगानीकर्तासँग नै राख्यौं ।

अनुभवी सेयर लगानीकर्ता छोटेलाल रौनियार केहीले सेयर बिक्री गरेर सुन खरिद गरेको हुनसुक्ने भए पनि धेरैले त्यस्तो नगरेको बताए । यद्यपि, अहिले सेयर बजार घटिरहेको र सरकारले पनि यो क्षेत्र सुधारका लागि कुनै पहल नगरेकोले लगानीकर्ता अन्य क्षेत्रमा डाइभर्ट हुनु स्वाभाविक भएको बताए ।

‘पुँजी बजारका समस्यै समस्या छन्, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाइ गर्छ, जो अर्थमन्त्री आएपनि लगानीकर्ताको मनोबल बढ्ने गरी काम गर्न सकेनन्, अझै पनि सुधार हुन सकेन भने हामीले पनि विकल्प सोच्नुपर्ने हुनसक्छ,’ उनले भने ।

उनका अनुसार अहिले सेयर लगानीकर्ता ठूलो समस्यामा छन् । लगानीकर्ताले विकल्प खोजिरहेका छन् । सेयर बजार घट्दा लगानीकर्ताले १८ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको धारणा उनको छ ।

सेयर लगानीकर्ता राधा पोखरेल पनि सेयर बजारमा ठूलो गिरावट आइरहँदा लगानीकर्ताले विकल्पको रूपमा सुन खरिद गरिरहेको धारणा राखिन् । ‘सुन र सेयरमा आकाश पातालको फरक छ, सेयर बजारमा सुधार हुन सकियो भने राम्रो हुन्थ्यो, तरकारीभन्दा सेयर सस्तो छ । तर, बजार घट्दै जाँदा प्यानिक भएर लगानीकर्ताको मनोबल घटेपछि सुनमा लगानी गरेका हुन सक्छन्, सुनले अहिले लगानीकर्तालाई आकर्षित गरेको छ,’ उनले भनिन् ।

लगानीकर्ताहरू सेयर बिक्री गरेर सुनमा लगानी गरेको एथेष्ट तथ्यहरू भने भेटिँदैनन् । तर, बजारमा सुनको माग भने केही बढेको बैंकरहरू बताउँछन् । सरकारले बैंकहरूलाई दैनिक २० केजी सुन ल्याउन पाइने व्यवस्था गरेको छ ।

अहिले व्यवसायीबाट त्यो परिमाणको सुन माग भइहरेको बताउँछन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको सुन आयात भएको छ । यसबाट सरकारले २ अर्ब २८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष भने २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको २९ लाख १६ हजार ५८६ किलो आयात भएको थियो । यो तथ्यांकले भने सुनमा लगानीकर्ताको आकर्षण बढेको देखाउँदैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य पनि सेयर लगानीकर्ता सुनको मार्केटमा छिरेको बताउँछन् । ‘पुँजी बजारमा लगानी असुरक्षित छ, त्यसैले आफ्नो लगानी सुरक्षित गर्न सेयर लगानीकर्ताहरू सुनमा लगानी गर्न खोजिरहेका छन्, सुनमा लगानी गर्दा सुरक्षित हुन्छ, आफ्नो लगानी सुरक्षित गर्न विभिन्न विकल्प खोज्नु स्वाभाविक हो,’ उनले भने ।

तर, सुनको खरिदबिक्री भने सोचेजस्तो नभएको उनको भनाइ छ । सुनको मूल्य बढेको भए पनि कारोबार भने घटेको उनले बताए ।

‘सुनको मूल्य बढ्दैमा कारोबार बढेको भन्ने हुँदैन, गत वर्षको तुलनामा सुनको कारोबार र आयात घटेको छ,’ उनले भने ।

किन बढिरहेको छ मूल्य ?

सेयर बजार घटेर सुनको मूल्य बढिरहँदा पनि लगानीकर्ताको आकर्षण सुनको बजारमा भएको धारणा धेरैको छ । किनकि लगानीकर्ता जहाँ फाइदा हुन्छ, सोही बजारमा छिर्छन् । छोटो अवधिमा लगानी गरेर सीमित नाफा असुलेर जाने लगानीकर्ताहरूले अहिले सेयर बजारभन्दा पनि सुन रोजिरहेका छन् । किनकि सुनको मूल्य दैनिक बढिरहेको छ ।

सुनको मूल्य बढ्नुमा भने स्वदेशी कारणभन्दा पनि अन्तर्राष्ट्रिय कारणहरू बढी छन् । बजारमा वस्तुको माग र आपुर्तिको कारणले नै सुनको मूल्यमा उतारचढाव हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग बढी हुन्छ, त्यसपछि मूल्य पनि बढ्ने गर्छ । आपूर्ति कम र माग बढी हुँदा सुनको मूल्य बढिरहेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार सुनको मूल्य बढ्नुको मूख्य कारण भनेको उच्च माग, अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु र विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनुले पनि सुनको मूल्य बढिरहेको हो ।

Share News