राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, २०२७ सालदेखि निरन्तर राजनीतिमा

<p>काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार भएका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । दाहाल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका युवराज शर्मालाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । दाहालले ३९ मत पाउँदा प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाएका थिए । कुलप्रसाद दाहाल र आमा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार भएका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । दाहाल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका युवराज शर्मालाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । दाहालले ३९ मत पाउँदा प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाएका थिए ।

कुलप्रसाद दाहाल र आमा देउरूपा दाहालको पहिलो सन्तानका रूपमा उनको जन्म विक्रम सम्वत् २०१२ साल चैत्र १६ गते कास्की जिल्लाको ढिकुरपोखरीमा भएको थियो । उनी सानै छँदा विक्रम सम्वत् २०१९ सालमा उनको परिवार कास्कीबाट चितवन बसाई सरेको थियो ।

उनले माध्यमिक तहसम्मको शिक्षा चितवन शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । उनको सानैदेखि राजनीतिमा रूची थियो । त्यसैले अध्ययनसँगै राजनीतिमा उनी सक्रिय भएका थिए । विभिन्न प्रभावका कारण उनी विद्यार्थी राजनीतिमा कम्युनिष्ट पार्टीको भातृ संगठनमा जोडिन पुगे ।

२०२७ साल जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूको सदस्यता लिएका थिए । अध्ययनकै क्रममा दाहालले २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको सदस्यता लिए । त्यस लगत्तै उनी पार्टी संगठनमा पनि सक्रिय हुन सुरु गरे ।

राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएको पञ्चायती व्यवस्थामा कम्युनिष्ट पार्टीमा विभाजन भएर धेरै घटकहरू निर्माण भइरहेका थिए । सोही क्रममा २०३४ सालबाट दाहाल फेरि मोहनविक्रम सिँहको नेतृत्वमा रहेको नेकपा मशालमा आबद्ध हुन पुगे ।

दाहालले २०३६ सालमा स्नातक तहको अध्ययन पूरा गरेका थिए । त्यस समयमा उनी पार्टीको क्षेत्रीय कमिटिको पदाधिकारी तहको जिम्मेवारीमा पुगिसकेका थिए । त्यसपछि भने उनी पार्टीको पूर्णकालीन सदस्यमा रहेर काम गर्ने गरी भारतर्फत लागे । उनले भारतमा रहेको पार्टीको भातृ संगठनको सचिवमा जिम्मेवारी पनि प्राप्त गरे भने पार्टीको मुखपत्र नेपाली एकता प्रकाशनको जिम्मेवारी समेत पाए ।

पार्टी संगठनको विभाजनको क्रममा २०४८ सालसम्म आइपुग्दा उनी प्रचण्डको नेतृत्वमा बनेको नेकपा (एकताकेन्द्र मसाल) र २०५१ सालमा निर्माण भएको माओवादीमा रहेका थिए ।

उनले १८ वर्षसम्म अखिल भारत एकता समाजको सह-सचिव, कोषाध्यक्ष, सचिव हुँदै महासचिवको संगठनात्मक जिम्मेवारीमा रहेर काम गरे । सोही क्रममा उनले ३ वर्षसम्म माओवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) को दक्षिण एसियाली शाखा कमिटिमा समेत भूमिका प्राप्त गरे । जसले गर्दा उनको दक्षिण एसिया र विश्वका माओवादी नेतृत्वहरूसँग समेत द्विपक्षीय विचार आदानप्रदान गर्ने अवसर मिल्यो ।

भारतमा नै बसेर पार्टीको सक्रिय राजनीतिकै क्रममा उनले प्रवास संगठनको अध्यक्ष बनेर लामो समयसम्म काम गरेका थिए । सोही क्रममा उनले २०५७ सालमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पनि पाए । नेपालमा २०५२ सालदेखि सशस्त्र युद्धको सुरुवात गरेको माओवादीमाथिको निगरानी भारतमा पनि बढाइएपछि भने २०५९ सालदेखि दाहालले भारतमा पनि भूमिगत भएर पार्टीको गतिविधि गरेका थिए ।

२०६० सालदेखि भने दाहाल नेपाल फर्किएर भेरी-कर्णाली क्षेत्रमा तीन जिल्लाको कमाण्डर भएर काम गर्न सुरु गरे । त्यसको केही समयमा उनले केही समयपछि आफ्नै जन्म जिल्ला कास्कीको इन्चार्जको रूपमा पनि केही समय काम गरे । दाहालले माओवादीले नामाकरण गरेको ताम्सालिङ राज्य र नेवा राज्यको पदाधिकारी तहमा रहेर पनि काम गरे । माओवादी पार्टीमा आएको विभाजनको क्रममा उनी सधैँ नै पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाइनमा उभिने गर्दथे । त्यसैले उनी अध्यक्ष नजिकको नातेदार सम्बन्धसँगै प्रचण्डको विश्वास पात्रसमेत बन्न सफल भए ।

०६२/६३ सालको जनआन्दोलनपश्चात नेपालको राजनीतिमा नयाँ मोडको सिर्जना भयो । ०६३ साल वैशाख ११ गते पूर्व राजा ज्ञानेन्द्रले सम्बोधनमार्फत् ०५९ सालमा विघटन भएको संसदको पुनःस्थापना गरेका थिए । त्यसपछि सात राजनीतिक दल र माओवादीको बीचमा भएको समझदारीअनुरुप २०६४ सालमा संविधानसभाको निर्वाचन भयो ।

२०६४ सालको संविधानसभा सदस्यको निर्वाचनमा दाहालले चितवन क्षेत्र नम्बर ३ बाट टिकट पाएर निर्वाचन जित्न पनि सफल भए । पार्टीको हेडक्वाटरमा राम्रो पहुँच भएका दाहालले २०७० सालको निर्वाचनमा पनि टिकट पाएका थिए तर आफ्नो निर्वाचन क्षेत्रमा बलियो जनआधार नबनाएका कारण उनी पराजित भए ।

पछिल्लो समयमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर बनेको देउवा नेतृत्वको गठबन्धन सरकारले उनलाई राष्ट्रपति मार्फत् मनोनित गराई राष्ट्रिय सभा सदस्य बनायो ।

अहिले दाहालका श्रीमती दुर्गादेवी पौडेलसहित दुई छोरा (समिर र दिनेश दाहाल) र एक छोरी (कल्पना दाहाल) गरी पाँच पारिवारिक सदस्य रहेका छन् । माओवादी सशस्त्र युद्धको क्रममा दाहालका दुई छोरा र बुहारीहरू समेत पूर्णकालीन भएका थिए । अहिले पनि दाहालको सम्पूर्ण परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

Share News