
काठमाडौं । विशेष दक्ष कामदार (एसएसडब्लु) भिसामा नेपालीहरु म्यानपावर कम्पनीमार्फत जापान जानको लागि कानुनी बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयनमा ल्याएसँगै नेपालीहरु विशेष दक्ष कामदार भिसामा जापान जाने बाटो खुलेको हो ।
विशेष दक्ष कामदार पठाउन मापदण्ड पुगेका इजाजत प्राप्त म्यानपावर कम्पनीहरुले जापानमा नेपाली श्रमिक पठाउन सकिने मन्त्रालयद्वारा जारी कार्यविधिमा उल्लेख गरिएको छ । तर, ती म्यानपावरको विशेष योग्यता समेत चाहिने कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधिअनुसार भाषा र सिपको लागि प्रचलित मापदण्ड बमोजिमको आफ्नै स्वामित्वको तालिम केन्द्र वा पूर्णकालिन उपयोग गर्न सकिने गरी करार सम्झौता भएको तालिम केन्द्र भएको हुनुपर्छ । साथै त्यस्तो तालिम केन्द्रसँग २ जना आफ्नै प्रशिक्षक र ती संस्थाको जापानमा आफ्नै सम्पर्क संस्था हुनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।
कार्यविधिअनुसार जापान जान चाहने दक्ष कामदारले मान्यता प्राप्त संस्थाबाट अनिवार्य रुपमा भाषा परीक्षा र पेशागत सीप उत्तिण गर्नुपर्छ ।
कामदार लैजान चाहने जापानको रोजगारदाता संस्थाले दूतावासमा कम्पनीसँग सम्बन्धित आधिकारिक विवरण, श्रमिकको तलब, सेवा सुविधा, शर्त लगायतका विषयहरु बुझाउनुपर्ने र दूतावासले वैदेशिक सूचनाप्रणालीमार्फत वैदेशिक रोजगार विभागमा पठाएर प्रक्रिया अगाडि बढाउनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।
रोजगारको मागको प्रमाणिकरण आइसकेपछि त्यसको १५ दिनको म्याद दिएर राष्ट्रिय स्तरको दैनिक पत्रिकामा माग भएको रोजगारीको पद, संख्या र पेशागत क्षेत्र, कामको विवरण, सुरक्षा तथा स्वास्थ्य जोखिम, दरखास्त दिने प्रकृया, छनौट प्रकृया र अवधि खुलाएर सूचना प्रकाशन गर्नुपर्ने हुन्छ ।
एसएसडब्लु प्रणाली अन्तर्गत श्रमिकको छनौट सरकारबाट नै गर्ने भनि रोजगारदाताले अनुरोध गरेमा वैदेशिक रोजगार विभागको जापान इकाईले कामदार छनौट गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । जापान जानको लागि छनौट हुने कामदारहरुले बीमा र कल्याणकारी कोष तथा सामाजिक सुरक्षा कोषमा योगदान वापतको रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।
कार्यविधिअनुसार रोजगारदाताले निःशुल्क लैजानेको लागत निःशुल्क हुने र अन्यको हकमा लागत मन्त्रालयले तोक्ने व्यवस्था छ । तर, जारी गरिएको कार्यविधिमा लागत शुल्कको विषयमा भने कार्यविधिमा स्पष्ट तोकिसकिएको छैन ।
जापानले नेपालसँगै चीन, इन्डोनेसिया, मङ्गोलिया, म्यान्मार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट ‘स्पेसिफाइड स्किल वर्कर’ लैजाने योजना बनाएको छ । लामो समयदेखि न्यून ज्यालामा खाडीका विभिन्न मुलुकहरुमा जान वाध्य भएका नेपालीहरुलाई जापान राम्रो रोजगार गन्तव्य हुनसक्ने अनुमान गरिएको छ ।
‘जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८०’
[pdf id=466675]