काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलभित्रका पसलहरुको अनुगमन गर्न वाणिज्य विभागलाई आग्रह गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले उपभोक्ता र यात्रुको हितका लागि वस्तुको मूल्य र गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै विभागलाई पसलको अनुगमन बढाउन आग्रह गरेको हो ।
विमानस्थल कार्यालयले वस्तुको बजार मूल्य र गुणस्तरको अनुगमन गर्ने निकाय वाणिज्य विभाग भएकाले सो विभागमार्फत अनुगमन बढाउनु पर्ने बताएको छ । साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन प्रतिकुल हुने गरी कुनै पनि गतिविधि नगर्न पसलहरुलाई सचेत गराएको छ ।
मन्त्री किरातीले हालै गरेको अनुगमनका क्रममा विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेका पसलमा एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्रि गरेको, एमआरपी वा प्राइस ट्याग नटासेको पाइएको थियो ।