काठमाडौं । महालक्ष्मी विकास बैंकले चैत्र मसान्त भित्रमा किस्ता भुक्तानी गर्ने ऋणीलाई व्याजमा १० प्रतिशत छुट गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम २०७६ चैत महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरु मध्ये चैत मसान्त भित्रमा भुक्तानी भएका किस्ताहरुको व्याजमा उक्त छुट दिएको हो ।
साथै, ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १० प्रतिशत छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको विकास बैंकले जनाएको छ ।
हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारणले उत्पन्न असहज परिस्थितिमा ऋणीहरुलाई व्याजमा छुट प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको थियो ।
बैंकले हाल १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।