२०७७ सालः अनलाइन व्यापारको बहार

<p>काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन धेरै देशले लकडाउन गरेर सर्वसाधारणलाई हिडडुल गर्न रोक लगाइरहेका छन् । लकडाउनको समयमा उद्योग, कलकारखना र बन्द व्यापार ठप्प भएको छ । उद्योग प्रतिष्ठान, कल कारखना, पसल तथा सुपरमार्केटहरु बन्द छन् । मानिस घरभित्रै बसेपनि खाने, लगाउने जस्ता मानवीय क्रियाकलाप केही कम भएपनि रोकिएका छैनन् । सरकारले [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन धेरै देशले लकडाउन गरेर सर्वसाधारणलाई हिडडुल गर्न रोक लगाइरहेका छन् । लकडाउनको समयमा उद्योग, कलकारखना र बन्द व्यापार ठप्प भएको छ । उद्योग प्रतिष्ठान, कल कारखना, पसल तथा सुपरमार्केटहरु बन्द छन् ।

मानिस घरभित्रै बसेपनि खाने, लगाउने जस्ता मानवीय क्रियाकलाप केही कम भएपनि रोकिएका छैनन् । सरकारले लकडाउन गरेको कारण घरभित्रै बस्नु परेपनि खानै पर्छ, लगाउनै पर्छ, सरसफाई गर्नै पर्छ । यसैकारण दैनिक उपभोग्य र अत्यावश्यक बस्तुको आपूर्तिका लागि परम्परागत व्यापार प्रणालीका संयन्त्रहरु पसल र सुपरमार्केटहरु बन्द भएपनि यसको विकल्पको रुपमा अनलाइन सपिङ फैलदो क्रममा छ ।

विकसित देशहरुमा पहिलादेखि नै प्रचलनमा आएको अनलाइन सपिङले नेपालमा पनि अब बृहत सम्भावना देखाएका छ । यसअघि नै संचालनमा रहेका सपिङ साइटहरु अहिले पनि सेवा प्रदान गरिरहेका छन् भने केही विशिष्ठीकृत सपिङ साइटहरु पनि दैनिक उपभोग्य र अत्यावश्यक बस्तु तथा सेवाको विक्रीमा सहभागी भएका छन् ।

अनलाइन सपिङको भुक्तानीका लागि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको प्रयोगले धेरै सहजता प्रदान गरेको छ । नेपालमा पनि सरकारले विगत ३ सातादेखि लकडाउन गरेका कारण नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ र मोबाइल बैंकिङको प्रयोगलाई बढावा दिन यस्ता सेवामा कुनै पनि प्रकारको शुल्क नलाग्ने नीतिगत व्यवस्था गरेको छ भने बैंक वित्तीय संस्थाहरुले यस्तो सेवा प्रवाहमा विशेष ध्यान दिएर ग्राहकलाई आकर्षित गरिरहेका छन् ।

लकडाउनका कारण पसलहरु बन्द छन भने अत्यावश्यक बस्तु तथा सेवा खरिद गर्नै पर्ने वाध्यताले अनलाइन सपिङमा नेपालीलाई बानी पर्दै गएको छ । नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाको कारण बैंक वित्तीय संस्थाहरुले पनि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमा विशेष सुविधा र सहुलियत प्रदान गरेको कारण अनलाइन सपिङ सहज पनि भएको छ । यसैकारण २०७७ साल नेपालमा अनलाइन सपिङको आधार वर्षको रुपमा स्थापित हुने सम्भावना देखिन्छ ।

लकडाउनको कारणले पछिल्लो समयमा बिश्वभर अनलाइन ब्यापार फस्टाउन थालेको छ । नेपालमा पनि देशमा सपिङ मलहरू बन्द भएको कारण अनलाइन व्यपारहरु वृद्धि हुन थालेको छ । भाटभटेनी सुपरमार्केट जस्ता स्थापित र परम्परागत विक्रेताहरुले पनि अनलाइन व्यापारको सेवा प्रदान गरेर यसको व्यापकताको संकेत गरिसकेका छन् ।

कोरोना भाइरसको विश्वव्यापी सन्त्रासका कारण धेरै देशमा सपिङ मलहरू बन्द हुनथालेसँगै अनलाइन ब्यापार बढेको हो । यो प्रभाव बिश्व बजारमा मात्र नभई नेपालमा पनि बढेको छ ।

खाद्यान्न व्यापार गर्ने सरकारको पूर्ण स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि कोरोनाको कारणले घरमा नै बसेका सर्वसाधारणहरुलाई अनलाइन व्यापारको माध्यमबाट घरमा नै खाद्यान्न पुर्याउन सुरु गरिसकेको छ । योसँगै अब अनलाइन व्यापारमा निजी क्षेत्र मात्रै नभइ सरकारी स्वामित्वमा रहेका कम्पनी पनि आइसकेका छन् ।

कानुनको अभाव

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आचार्य अनलाइन व्यापारको कानुन बन्ने प्रक्रियामा रहेको बताउँछन् । कानुनको अभावमा अनलाइन व्यापारमा देखिएका समस्या सम्बोधन गर्न समस्या भएको गुनासो आउने गरेको छ ।

अनलाइन व्यापारको कानुन बनेपछि कुन प्रकारको ठगीलाई कसरी कारवाही गर्ने भनेर प्रष्ट हुने आचार्यको भनाइ छ । यद्यपि ठगी भयो भनेर आएका उजुरीमा कारवाही भइरहेको उनले बताए । कानुन बनेपछि सबै अनलाइन व्यापारहरुलाई नियमन गर्ने सजिलो हुने आचार्यको भनाइ छ ।

उपभोक्ता नै सजग हुनुपर्ने

नेपालमा संचालित केही अनलाइन व्यापार गर्नेहरुले ठगी गरेको भन्ने गुनासो नआएका होइनन् । यसरी आउने गुनासोहरुमा भनिए अनुसारको बस्तु नपाइने, कम गुणस्तरको हुने, अधिक मूल्य लिइएको लगायतका हुने गरेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानिया उपभोक्ता सचेतना नै सबैभन्दा ठूलो उपाय हो भन्छन् । आफूले अनलाइनमा अर्डर गरेको बस्तुको मूल्य कति हो भने उपभोक्ताले बुझनु पर्ने बानियाले बताए । लकडाउनको बेलामा अनलाइन व्यापार बढेकोले सरकारले यस्तो व्यापारको पनि अनुगम गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधि अनलाइन व्यापार गर्ने कम्पनीहरु

अनलाइन व्यापारमा बस्तु तथा सेवाको छनोट तथा अर्डर गर्नदेखि प्राप्त गर्न र त्यसको भुक्तानी गर्नको लागि इन्टरनेटको आवश्यकता पर्छ । पछिल्लो समयमा नेपालमा व्यापक रुपमा बढेको स्मार्ट फोनको प्रयोग र इन्टरनेटको मूल्य पनि उपभोक्ताले तिर्न सक्ने रहेको कारण अनलाइन व्यापारलाई थप सहजता भएको छ । इन्टरनेटको उपलब्धता, भुक्तानीको लागि बैंकिङ क्षेत्रको सहयोग र उपभोक्तामा बानी पनि पर्दै गएका कारण अनलाइन व्यापार थप मौलाउने अवस्था देखिन्छ ।

लकडाउनको कारण अनलाइन व्यापार बढ्ने देखिएपनि यसअघिदेखि नै अनलाइन व्यापार प्रचलनमा थियो । लकडाउन अघिदेखि संचालनमा रहेका र अहिले थपिएका केही प्रतिनिधिमुलक अनलाइन व्यापार कम्पनीहरुको बारेमा पनि हामीले संक्षिप्त जानकारी दिने प्रयास गरेका छौं ।

दराजडटकम

नेपालमा अनलाइन सपिङको बानी बसाउन दराजडटकमको मुख्यभूमिका छ । लकडाउनअघिदेखि नै संचालनमा रहेको दराजले लकडाउनको समयमा बिगमार्टसँगको सहकार्यमा १५ सय रुपैयाँभन्दा माथिको सामग्रीहरुको अर्डर लिने व्यवस्था गरेको छ ।

दराज डककममा गएर अत्यावश्यक बस्तुको अर्डर गरेमा त्यस्तो सामान तपाईले भनेकै स्थानममा आइपुग्छ ।

भाटभटेनी सुपरमार्केट

भाटभटेनी सुपरस्टोरले हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, भैरहवा र नेपालगञ्जमा होम डेलिभरी सेवा दिइरहेको छ । भाटभटेनीले टेलिफोन, भाइबर, अनलाइन जस्ता माध्यमबाट अर्डर लिने र सामान डेलिभरी गर्ने गरिरहेको छ ।

कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले सबै सामग्री लकडाउन अघिकै मुल्यमा विक्री गरिएको बताएका छन् । भाटभटेनीमा फोन गरेर कम्तिमा ५ हजार रुपैयाँ बराबरको सामान अर्डर गर्नुपर्ने हुन्छ ।

सेल्सबेरी

सेल्सबेरी डिपार्टमेन्ट स्टोरले पनि लकडाउनको समयमा घरघरमै सामानहरु पुराउने व्यवस्था गरेको छ । तपाईले भाइबर वा फोन गरेर सामाग्री मगाउन सक्नुहुनेछ ।

फुडमाण्डुडटकम

रेष्टुरेन्टको खाना घर वा कार्यालयमा पुर्याउने फुडमाण्डुले लकडाउनको समयमा रेष्टुरेन्टको खानालाई केही समयको लागि बन्द गरेर ताजा तरकारी, मासु, फलफूल, बेकरी आईटमहरु घरघर पुर्याउन सुरु गरेको छ । तपाईले यसको वेभसाईटमा गएर १५ सय रुपैयाँभन्दा माथिको सामग्री दिउँसो १२ बजेपछि मगाउन सक्नुहुन्छ ।

जिभी एप

जिभी एपबाट सजिलै आवश्यक सबै प्रकारको जेनरल मेडिसीन र मेडिकल उपकरणहरु अर्डर गर्न सकिन्छ । यसमा बालबालिकाको र व्यक्तिगत हेरचाहको लागि क्रिमहरु अर्डर गर्न पनि सकिन्छ ।

ईजीकेयर डटकम

ईजीकेयर डटकममा डाक्टर सम्बन्धी सेवाको लागि प्रयोग गर्न सकिन्छ । यसले औषधी उपकरणको साथै डाक्टरसँग सम्पर्क गराइदिन्छ ।

सम्बन्धित सामग्री

घरमा सामान सकियाे भने यस्ताे गर्नुहाेस्, सरकारले अनलाइनबाटै हाेम डेलिभरी गर्छ

लकडाउनमा दाल चाहियो कि ताजा तरकारी ? औषधी र रेष्टुरेन्टका खानासमेत अर्डर गर्ने यस्ता छन् विकल्प

Share News