अब हामी ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्दैनौंः अर्थमन्त्री डा. खतिवडा

<p>काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब नेपालले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताएका छन् । यसअघि चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेरै छोड्ने दावी गरिरहेका खतिवडाले अब भने त्यो सम्भव नहुने बताएका हुन् । उनले एक सञ्चार माध्यमसँग कुराकानी गर्दै विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे कारण अब त्यो हाम्रा लागि सम्भव [&hellip;]</p>

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब नेपालले ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताएका छन् । यसअघि चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेरै छोड्ने दावी गरिरहेका खतिवडाले अब भने त्यो सम्भव नहुने बताएका हुन् । उनले एक सञ्चार माध्यमसँग कुराकानी गर्दै विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे कारण अब त्यो हाम्रा लागि सम्भव नभएको बताएका हुन् ।

उनले कोरोना भाइरसले विश्वव्यापी रुपमा पारिरहेको असरले नेपालको अर्थतन्त्रमा पनि धेरै असर पार्न सक्ने बताएका छन् । तर प्रारम्भिक अनुमान भने धेरै हुन सक्ने उनकाे भनाइ छ । ‘अहिले त प्रारम्भिक अनुमान मात्र हो, अहिले सबै कुरा प्रक्षेपण गर्न कठिन छ, समग्र अर्थतन्त्रमा हामीले जुन आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ, त्यसमा त पुगिँदैन, स्वभाविक हो,’ उनले भने ।

तर, कति कम हुन्छ भन्ने कुराको हामी आँकलन सरकारले गरिरहेको उनको भनाइ छ । छिमेकी देश भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदासम्म नेपाललाई जोखिम कायम रहिरहने उनको भनाइ छ ।

‘अब हाम्रो विकास निर्माणको धेरै काम हुने फागुन, चैत, वैशाख र जेठ हो, मुख्य समय हाम्रो खेर गयो, दोस्रो फेब्रुअरी र मार्च पर्यटकको सिजन हो त्यो पनि खेर गयो, । तेस्रो यो सिजन नभनिए पनि वैदेशिक रोजगारमा जानेहरुको अवस्था पनि अन्त्य भयो, त्यसैले हाम्रो अर्थतन्त्रमा असर परेको छ,’ उनले भने ।

विश्वका अन्य मुलुकमा हेर्ने हो भने कोरोनाका कारणले १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने अनुमान गरिएको उनले बताए ।‘६ प्रतिशतको वृद्धि भनियो भने ५ वा ४.५ या ४ भनिएको छ, हामीकहाँ पनि १/२ प्रतिशतको असर त पर्छ नै,’ उनले भने । तर, समृद्धिको मार्ग भनेको महिना, वर्ष या दिनले हिसाब गर्ने कुरा नभइ यो दशकौँको कूरा भएको उनको भनाइ छ ।

Share News