आइफोनको दौडमा जेनजी

हातमा लाखौंको ग्याजेट, कमाइ शून्य

काठमाडौं । ‘हातमा आइफोन भएपछि धेरैको हेर्ने नजर नै बेग्लै हुन्छ, आफू स्मार्ट देखिन पनि धेरैले आइफोन किन्छन्,’ महेन्द्रनगरका २१ वर्षीय युवा अमरेश बुढा भन्छन्, ‘मैले चाहिँ टिकटक बनाउन आइफोन किनें ।’

बजारमा स्यामसुङ ग्यालेक्सी, गुगल पिक्सेल, वानप्लस, शाओमी र नथिङ फोनजस्ता अत्यधुनिक विशेषता भएका दर्जनौं स्मार्टफोनहरू छन् । यद्यपि, यति धेरै आकर्षक विशेषता र विकल्पहरू हुँदाहुँदै पनि अधिकांश युवापुस्ता विशेषगरी जेनजीहरूको भने आइफोनप्रति क्रेज बढ्दै गएको छ । 

‘आइफोन किन्नकै लागि मैले रेस्टुरेन्टमा वेटरको कामदेखि बुके बनाएर बेच्नेसम्मका काम गरें, दैनिक सय-सय गरेर पकेट खर्चसमेत जोगाएर बचत गरेपछि आइफोन किन्न सफल भएँ,’ अमरेशले भने । 

क्यामेराको उत्कृष्ट गुणस्तर, बलियो सुरक्षामात्रै नभई सामाजिक हैसियत र साथीभाइको देखासिकीले पनि युवाहरूको लागि आइफोन प्रयोग नयाँ फेसनजस्तै बनेको छ । 

‘आइफोनमा गेमिङ स्मूथ चल्छ, ल्याग (ह्याङ) पनि हुँदैन, क्यामेराको गुणस्तर राम्रो हुन्छ, त्यसैले मैले पनि आइफोन रोजें,’ कैलालीका १८ वर्षीय मनिष सापकोटा भन्छन् । 

उनले आइफोन-१५ सहजै प्राप्त भने गरेका होइनन् । उनी भन्छन्, ‘बाआमासँग महिनौं झगडा गरेपछि अन्ततः आइफोन-१५ किनेर दिनुभयो ।’

अमरेश र मनिष उदाहरणीय पात्रमात्रै हुन् । अहिले धेरै जेनजीहरूका लागि आइफोन प्रयोग नयाँ फेसन बनेको छ । अभिभावकसँग महँगो आइफोन खरिद गर्न लगाएर व्यक्तिगत तस्बिर खिच्ने र गेम खेल्नका लागि मात्रै मोबाइल प्रयोग हुने गरेको छ । 

१६ वर्षीय राजकुमार खड्का फ्री फायर खेल्नकै लागि आइफोन खरिद गरेको सुनाउँछन् ।

‘आइफोन किन्नु मात्र ठूलो कुरा होइन, यसको पार्टपुर्जामा समस्या आउँदा पनि मर्मत गर्न न्यूनतम ७/८ हजार रुपैयाँ चाहिन्छ, जुन मजस्तो आम विद्यार्थीका लागि निकै ठूलो रकम हो,’ राजकुमार भन्छन्, ‘मैले मेरो पूरानो मोबाइल साटेर आइफोन किनेको हुँ ।’

आइफोनको प्रयोग अहिले फेसनजस्तै बनेको छ । साथीभाइ तथा आफन्तको हातमा आइफोन देख्नेबित्तिकै आफूले पनि देखाउनकै लागि भए पनि आइफोन खरिद गर्ने प्रवृत्ति बढेको छ । 

डोटीका सुरेश घिमिरेको आइफोन प्रयोगको अनुभव संघर्षपूर्ण छ । उनले देखासिकीकै कारण आइफोन चलाउने चाहना जागेको सुनाउँछन् ।

उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘सहरबाट गाउँ आएका दाजुहरूको हातमा आइफोन देखेपछि मैले १० कक्षामै पढाइ छोडें, आइफोन नै किन्छु भनेर कमाउन भारत गएँ, मुम्बईको एउटा रेस्टुरेन्टमा एक वर्षसम्म काम गरें, पछि आइफोन पनि किनें ।’ 

फेसन आत्मसात् गर्न अपराधको सहारा

आइफोनको फेसन आत्मसात् गर्न युवाहरू आपराधिक काममा पनि लागेको देखिएको छ । यसको उदाहरण गत साउनमा बाग्लुङमा घटेको थियो । गत साउनमा बाग्लुङमा साथीले आइफोन दिन अस्वीकार गरेको सामान्य विवादमा आफ्नै साथीहरूले १७ वर्षीय लजिन थापाको हत्या गरेको आरोपमा पक्राउ परेका थिए । पछि प्रहरीले हत्याको आरोपमा संलग्न चार जना किशोरलाई पक्राउ गरेको थियो । 

यस्तै, गत बैशाखमा ठमेलमा केही किशोरहरु मिलेर एक विदेशी पर्यटकको आइफोन लुटपाट गरेका थिए । पछि प्रहरीले उनीहरुको खोजी गरी पक्राउ गरेको थियो । 

null

किशोरहरूमा आइफोनप्रतिको मोहले आपराधिक काममा सक्रियमात्रै भएका छैनन्, अभिभावकलाई पनि आर्थिक दबाब पर्ने गरेको मोबाइल बिक्रेताहरू बताउँछन् । 

न्युरोडमै स्थित एच.डी इलेक्ट्रनिक्सका सञ्चालक किशोर-किशोरी तथा विद्यार्थीहरु परिवारसँगै आएर सेकेन्ड-ह्यान्ड आइफोन किन्ने अभ्यास बढी रहेको अनुभव सुनाउँछन् । उनका अनुसार काम गर्ने विद्यार्थीहरू बढी आइफोन खरिद गर्ने गरेका छन् । 

न्यूरोडस्थित गेट कनेक्टेड मोबाइल हाउसमा कार्यरत स्वस्तिका घिमिरे पनि बढीजस्तो किशोर किशोरीहरू आइफोन बढी खरिद गर्ने गरेको सुनाउँछिन् ।

‘धेरैजसोले पुरानो फोन साटेर आइफोन किन्ने गरेका छन्, कतिपयले अभिभावकलाई सँगै ल्याएर खरिद गर्ने गरेका छन्,’ उनले भनिन् । 

उनका अनुसार बढीजसो २० देखि २८ वर्षका ग्राहक आइफोन खरिद गर्न आउने गरेका छन् । 

उपभोक्ताले पाँच तरिकाबाट मोबाइल खरिद गर्छन् । आधिकारिक बिक्रेताबाट पूरै पैसा तिरेर (फुल पेमेन्टमा), मासिक किस्ताबन्दी, कम मूल्यमा सेकेन्डह्यान्ड (पुरानो), पुरानो फोन दिएर बाँकी रकम थपी साटफेर गर्ने र कर छल्न विदेशमा रहेका आफन्तहरूमार्फत ग्रे मार्केटबाट मगाएर पनि आइफोन प्रयोग गर्ने गरेको मोबाइल बिक्रेताहरु बताउँछन् । 

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका प्राध्यापक दिपेश घिमिरे युवाहरुको आइफोनप्रतिको क्रेजलाई समाजशास्त्रीय दृष्टिकोणबाट मूल्यांकन गर्नुपर्ने बताउँछन् ।

‘आइफोनले समाजमा मान्छेको वर्ग र हैसियत निर्धारण गर्छ भन्ने बुझाइ भइसकेको छ । यदी सोही प्रविधि सस्तो मूल्यमा पाइने हो भने पनि मानिसहरू आफूलाई माथिल्लो क्लासमा राख्न र हैसियत देखाउनका लागि भए पनि भनेर आईफोन नै किन्ने अभ्यास देखिन्छ,’ घिमिरे भन्छन् । 

‘तिमीलाई चाहिएको त्यो ग्याजेट तिमीले भोली गएर एक महिनाको तलबले किन्ने कि आज तिम्रो भविष्य बेचेर?’ पढाइ छोडी भविष्य दाउमा राखेर आइफोनका लागि श्रम गर्ने युवाहरुलाई त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागका प्राध्यापक दिपेश घिमिरेले प्रश्न गर्छन् । 

उनका अनुसार अपडेटेड् प्रविधिको उपभोक्तावाद र आवश्यकभन्दा पनि के नयाँ छ भन्ने ग्लोबल प्रणाली यो प्रतिस्पर्धाका कारण हो ।  

‘नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय डलर मात्रै छ अनि ८० हजार डलर प्रतिव्यक्ति आय भएका विदेशीहरूको स्तरको ग्याजेट नेपालीले किन्दा यसले देशको आर्थिक र सामाजिक अवस्थामा ठूलो प्रभाव पारेको छ,’ घिमिरे भन्छन्, ‘मानिसको महत्त्वाकांक्षा अनुसारको पूर्वाधार नहुँदा नेपालजस्तो विकासोन्मुख राष्ट्रलाई समस्या पर्छ ।’

‘सबै अभिभावकले आफ्ना छोराछोरीलाई आइफोन किनिदिन चाहँदैनन् । तर, धेरैजसो बाध्य हुन्छन्,’ घिमिरे भन्छन्, ‘छोराछोरी हुर्काउँदा सचेत हुनुपर्छ, अभिभावकहरु आफैं सधैं मोबाइलमा झुन्डिने वा जतिबेला पनि मोबाइल, टिकटक, इन्स्टाग्राम जस्ता सोसल मिडियाका मात्रै कुरा गर्नु हुँदैन । बरु छोराछोरीका बानी सुधार्नका लागि पनि फुर्सदको समय किताबहरूमा बिताउनुपर्छ ।’

उनका अनुसार यसमा विद्यालय र शिक्षा प्रणालीको पनि हात छ ।

'केटाकेटीहरू कस्तो साथीहरूको सङ्गतमा छन् ? उनीहरू दिनभरि बसेर टिकटक भिडियोका मात्रै गफ गर्छन् कि ? यो चिन्ताको विषय हो,’ घिमिरे भन्छन्, ‘अस्ट्रेलियाले १४ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाएको छ ।’ 

यसतर्फ नेपालले पनि बेलैमा सोच्नुपर्ने सुझाव उनको छ । आजको आइफोनको दौडले भविष्यमा समस्या निम्त्याउन सक्ने उनको बुझाइ छ । 

Share News