काठमाडौं । व्यापारीहरुले समान आयात गर्दा भन्सारका कर्मचारीलाई घुस दिनु परेको गुनासो गरेका छन् । भन्सारका कर्मचारीलाई घुस नदिए समान अड्काई दिन्छन्, शुक्रबार राजधानीमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा आयोजित कार्यक्रममा व्यापारीहरुले भने-‘भन्सारका घुस्याहा कर्मचारीलाई कहिले कारवाही हुन्छ ?’
नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश साउदले नेपालमा व्यापार गर्न सामान आयात गर्दा सरकारी कर्मचारीलाई घुस दिंदै आएको खुलासा गरे । उनले भने-‘ मैले सामान आयात गर्दा १० प्रतिशत घुस दिने गरेको छु ।’ अर्थमन्त्रीज्यू नेपालका व्यापारीले यो समस्या कहिलेसम्म भोगिरहने हो ? ‘म त्यो घुस लिने कर्मचारीको नाम दिन सक्छु, नाम दिए बापत मलाई कानुनी कार्वाही हुन्छ भने म जेल जान तयार छु’-उनको भनाई थियो ।
नेपालमा सामान ल्याउँदा कार्मचारीलाई दिने घुसको कारणले नै भारतमा १ सय नेपाली रुपैयाँमा पाइने सामान नेपालमा १ सय ५० रुपौयाँ पर्ने गरेको बताए । नेपालमा भन्दा भारतमा सामान सस्तो हुने कारण नेपालीहरुले भारतमा नै गएर सामान किने गरेको उनको भनाई थियो ।
‘नेपालको अर्थतन्त्रका विद्ययमान अवसर तथा चुनौती’ विषयक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले घुसका कुरा बहानाबाजी मात्रै भएको बताए । उनले भने–‘जसले घुस मागेको छ, जानकारी गराउनुस्, कार्वाही भएन भने मलाई भोलिदेखि नै आलोचना गर्नुस् ।’ जानाजान गल्ती गर्ने व्यापारीलाई एक दिन मात्रै भए पनि सरकारले जेल हालेर नै छाड्ने बताए । विश्वमा राष्ट्रपति, सेलिबे्रटी र ठूला व्यापारीहरु पनि कानून अनुसार नै एक दिन भए पनि जेल बसेको थुप्रै उदाहरण भएको उल्लेख गरे ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यापारी र उद्योगीहरुको लागि व्यापार र उद्योग सञ्चालन गर्ने समस्या भएको र यसलाई सरकारले गहन रुपामा लिएर उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापना र व्यापार गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताए ।