दुग्धजन्य पदार्थको बजार गुम्ने चिन्ता छः सुमित केडिया

<p>सरकारले तीन वर्षमा देशलाई दूधबाट आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको छ । यस परिस्थितिमा विभिन्न समस्याको बाबजुत पनि उद्योगहरू स्थापित बन्दै गएका छन् । गुणस्तरीय दूध उत्पादन व्यवसायीकोमात्र नभइ समग्र सरोकारवालाको हात रहेको बताउने डेरी एशोशिएसनका पूर्व अध्यक्ष तथा सिताराम गोकुल मिल्क लिमिटेडका प्रवन्ध निर्देशक सुमित केडियासँग गरिएको विकास बहसः पछिल्लो समय दूध डेरीको बजार [&hellip;]</p>


सरकारले तीन वर्षमा देशलाई दूधबाट आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको छ । यस परिस्थितिमा विभिन्न समस्याको बाबजुत पनि उद्योगहरू स्थापित बन्दै गएका छन् । गुणस्तरीय दूध उत्पादन व्यवसायीकोमात्र नभइ समग्र सरोकारवालाको हात रहेको बताउने डेरी एशोशिएसनका पूर्व अध्यक्ष तथा सिताराम गोकुल मिल्क लिमिटेडका प्रवन्ध निर्देशक सुमित केडियासँग गरिएको विकास बहसः

पछिल्लो समय दूध डेरीको बजार कस्तो छ ?
पछिल्लो समय दूध डेरीको बजार राम्रो बन्दै गएको छ । समय अनुसार दुध तथा दुग्धजन्य पदार्थबाट उत्पादित वस्तुप्रति आम उपभोक्ताको हेर्ने दृष्टिकोण फरक आएकोे छ । नेपाल सरकारको सहयोग र सहकार्यले नै डेरी व्यवसाय यस अवस्थामा पुगेको हो । नेपालमा शुरुमा औषधी उत्पादन हुँदा आम ग्राहकले त्यसको अर्थ बुझेका थिएनन् । त्यसको मर्म बुझेपछि नेपाली औषधीले बजारमा जसरी प्रभाव जमायो । डेरी क्षेत्र पनि विस्तारै त्यसरी नै अघि बढ्दै छ ।

हरेक वस्तुमा गुणस्तरियतामा प्रश्न चिन्ह लाग्दै आइरहेको छ ? दूधको गुणस्तर वारे आम उपभोक्तालाई के भन्नु हुन्छ ?
नेपालीे दूध तथा दुग्धजन्य पदार्थ सेवन गर्न अयोग्य छैनन् । आम उपभोक्ताले उमालेर ढुक्कका साथ दुध पिउन सक्नु हुन्छ । गुणस्तरमा मात्र नभई मूल्य निर्धारणको विषयमा समेत किसान र व्यवसायीबीच हरेक विषयमा हामी स्पष्ट हुँदै गएका छौं । हामी व्यवसायी किसानबाट दुध किन्छौ र पैसा पठाउँछौं । उद्यमी र किसानबीच आ– आफ्नो क्षेत्रबाट के कसरी राम्रो गर्न सकिन्छ, दुधको गुणस्तर कसरी कायम गर्न सकिन्छ भनेर सरोकारवाला पक्ष समेत सचेत छ । यस हामीबीच सहकार्य गर्ने अभ्यासको विकास भएको छ । जुन अत्यन्त सकारात्मक हो ।

२० वर्षे कृषि रणनितिमा ३ वर्षभित्र दुधबाट देशलाई आत्मनिर्भर बनाउने उल्लेख गरिएको छ ? के यो सम्भव छ ?
सरकारले तीन वर्षमा दुध, दुई वर्षमा मासु र एक वर्षमा अण्डाले नेपाललाई आत्मनिर्भर बनाउने रणनीति अघि सारेको हो । अण्डामा नेपाल अत्मनिर्भर भएसँगै मासुमा पनि आत्मनिर्भरको बाटो खोजिरहेको छ । यस अवधिमा दुध उत्पादनमा केही सुधार आएको छ । तै पनि यहि मितिबाट हामी आत्मनिर्भर हुन्छौं भन्न सक्ने अवस्था छैन । यस भित्र भएका विभिन्न कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडी बढ्नु पर्ने देखिन्छ । मुख्यत अहिले दुध उत्पादनमा नै समस्या देखिएको छ । किसानले जबसम्म राम्रो दुध उत्पादन गर्न सक्दैनन् तबसम्म हामी जस्ता व्यवसायीले बजारमा गुणस्तरीय दुध वितरण गर्न सकिदैन । गाई भैंसीमा नश्ल सुधारका साथै सन्तुलित आहारको व्यवस्थापन गर्न सकियो भने कम समयमा नै लक्ष्य हासिल गर्न सकिन्छ ।

त्यसो भए हामी प्राविधिक विषयमा हामी निकै पछाडि छौ भन्ने होइन त ?
हाल नेपाल सरकारले लाइभ स्टक इनोभेसन प्रोजेक्ट अगाडी सारेको छ । आठ अर्बको उक्त प्रोजेक्ट ४ अर्ब नश्ल सुधारका लागि र ४ अर्ब आहार व्यवस्थापनका लागि छुट्याएको छ । यसलाई सही ढंगले कार्यान्वयनमा लगियो भने समस्या समाधान सम्भाव छ ।
यस क्षेत्रमा अझै प्राविधिकको ठूलो समस्या छ । राम्रो प्राविधिक पाउन नसक्दा यसको असर व्यवसायमा समेत पर्ने गरेको छ । अब सिटीभिटीले प्राविधिक तालिम दिनको लागि जुन पाठयक्रम बनाउँदै आएको छ, त्यसमा सम्बन्धित क्षेत्रका विज्ञ तथा व्यवसायीलाई समावेश गरेर पाठ्यक्रम बनाउनु पर्छ भन्ने हाम्रो मुख्य आवाज हो । यस क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु सैद्धान्तिक ज्ञान भएपनि प्रयोगात्मक ज्ञान हुँदैन । यससँग सम्बन्धित विज्ञको सल्लाह बमोजिम पाठयक्रम बनाउनु आवश्यक छ ।

सिताराम डेरीको शुरुवात गर्नु भएको कति वर्ष भयो ? सुरुवातको समय कस्तो थियो र आज कुन रुपमा स्थापित भएको छ ?
सिताराम डेरी स्थापना भएको २४ वर्ष पुरा भई २५ वर्षमा प्रवेश गर्दैछ । काठमाडौंको मच्छेंगाउँमा यसको प्लान्ट छ । ठूलो मेहनतले आज आम उपभोक्ता समक्ष पुग्ग सफल भएका छौं । दूध पेरिसियल गुडस् भएकोले लामो समयसम्म टिक्न र टिकाउन गाह्रो हुन्छ । गोठदेखि ओठसम्म हरेक कुरालाई ध्यानमा राख्नु पर्ने भएकाले चुनौती धेरै छ । अश्वस्त बजारले डेरी व्यवसायलाई टिकाउन, विस्तार गर्न गाह्रो भईरहेको छ ।

बजारमा गुणस्तर भन्दा पनि कमिशले प्राथमिकता राख्छ । धेरै कमिसन दिनेको सामान बजारले सहजै स्वीकार्छ कम दिनको सामान राम्रो भएपनि ओझेलमा पर्छ । बजारको यो प्रवृतिले हामी जस्ता गुणस्तरलाई ध्यानमा राखेर अघि बढ्नेलाई व्यवसाय टिकाउन छ । सहुलियत पाएका वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्दा हरेक पाइलामा चुनौती छ ।

बजारलाई व्यवस्थित बनाइ, उपभोक्ताको चुलोमा गुणस्तरीय दुध पुर्याउन सरकारले पोका दुधलाई नियन्त्रण गर्ने नीति ल्याएको थियो । यसको कार्यान्वयनको पछिल्लो पछिल्लो अवस्था कस्तो छ ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको पोका दुध नियन्त्रण सम्बन्धी नीतिमा किसानले आफ्नो गोठबाट उपभोक्ताको घर–घरमा लैजाने विषयमा कुनै गुनासो छैन । बिक्री वितरणको प्रक्रियामा गएपछि अनिवार्य प्याकेजिङ्मा हुनु पर्छ भन्ने विषयमा नीतिमा स्पष्टता पारिएको छ । दुध तथा दुग्धजन्य पदार्थको स्वच्छता सम्बन्धी निर्देशिकामा लेखिएका कुराहरु कार्यान्वयन हुन सकिरहेको छैन ।

डेरी एशोशिएसन भित्रकै पदाधिकारीहरुको मिलिमत्तोमा निर्देशिकामा लेखिएका विषयलाई कार्यान्वयमा लैजान रोकावट भइरहेको छ भन्ने कुरा बाहिर आइरहेको छ,  आखिर कुरा के हो ?
सरकारले व्यवसायीको हकहितका लागि नीति ल्याउँछ भने हामीले त्यसलाई स्वीकार गर्दिन भन्न मिल्दैन । सरकारले ल्याएको नीति नियमहरू मान्नु हामी व्यवसायीको दायित्व हो । नेपाल डेरी एशोशियसनमा हाल पाँच सयभन्दा बढी सदस्य रहेका छन् । एशोशियसनले आफ्ना सदस्यहरुलाई मात्र नीति नियममा राख्न सक्छ । अन्यलाई सरकारलेनै लगाम लगाउनु् पर्ने हुन्छ । एसोशियसनले सातै प्रदेशमा डेरी शाखा विस्तार गरेको छ ।

दैनिक कति दुध उत्पादन हुन्छ, बजारको माग कति हो ?
नेपालमा प्रत्येक दिन ४८ लाख लिटर दुध उत्पादन हुने गरेको छ । ५० प्रतिशत दुध किसान आफुले नै उपभोग गर्छ भने १५ प्रतिशत दुधमात्र औपचारिक क्षेत्र .(फर्महरू) मा पुग्छ । ३५ प्रतिशत किसान आफैले प्रत्यक्ष पसल, होटल तथा रेष्टुरेन्टमा पुराउँछन् । हाल दैनिक ७ लाख लिटर दुधको माग छ । यो क्रम दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

सरकारले पाउडर दुध प्रतिवन्द लगाएको छ । यसबाट हामीलाई फाइदा/बेफाइदा के हुन्छ ?
जाडो मौसममा दुध उत्पादन बढ्छ भने गर्मीमा दुधको उत्पादन घट्छ । गर्मी महिनामा नै दुधजन्य उत्पादनको माग बढी हुन्छ । यो मौसममा दुध पुग्दैन । यस्तो अवस्थामा संसार भरि नै बजारको मागलाई परिपूर्ति गर्न पाउडर दुध नै प्रयोग हुने हो । नेपालको सदन्र्भमा सरकारले आवश्यकता अनुसार बजारमा दुध पूर्ति गर्न सकेको छैन । पाउडर दुध बन्द हुँदा बजारको आवश्यता परिपूर्ति गर्न गाह्रो भएको अवस्था छ ।

यस्तो अवस्थामा हामी जस्तो उद्यमीले बजार पहुँच घटाउनुको विकल्प छैन । यस विषयलाई लिएर कुरा उठिरहेको छ । भोलिका दिनमा बजारमा विदेशी उत्पादनले बजार पहुँच बढाउन सक्छन् । बजार गुम्ने चिन्ता आम व्यवसायी रहेको छ । उत्पादन तथा वितरणमा समस्या भईरहँदा यो विषयमा सरकार गम्भिर हुनु पर्ने देखिन्छ ।

बजारमा हाल कति उत्पादन तथा वितरणको अवस्था कस्तो रहेको छ ?
पहिला ४० प्रतिशत उत्पादन रहेको थियो । हाल अस्वस्थ बजारका कारण २५ प्रतिशतमा झरेको छ । दोस्रो कारण स्पष्ट सरकारको नीति नियम नहुँदा उपभोक्ताले दुधको माग गरिरहे पनि वितरण गर्न सकिरहेका छैनौं । विभिन्न कारणले उत्पादन भएको दुधमध्ये २५ देखि ३० प्रतिशत मात्र बजारमा पुग्छ । पछिल्लो समय बजारमा मात्र नभई किसानमा पनि अस्वस्थ प्रतिस्पर्धा भईरहेको छ । यसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ध्यान दिनु पर्ने अवस्था रहेको छ ।

सिताराम डेरीको दुधभन्दा घ्यू बजारमा राम्रो मानिन्छ, के छ यस भित्रको राज ?
किसानले नै दुध उत्पादन गर्ने हुँदा त्यस भित्रको गुणस्तर किसानमा नै निर्भर हुन्छ । तर, हाम्रो डेरीको मुख्य चाहना तथा उद्देश्य गुणस्तरयुक्त दुधजन्य उत्पादन उपभोक्ता सामु पुर्याउनु हो । घ्यू आम ग्राहकले मन पराउनु भएको छ । हाम्रा सबै उत्पादन उस्तै छन् । उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने हाम्रो प्रयास अहिलेसम्म पनि जारी छ र भोलिपनि रहिरह्ने छ । कृषकबाट ल्याउने दुधमा थप सुधारको आवश्यकता रहेको हामीले महसुस गरिरहेका छौं । हालै मात्र विशालनगर र महारानगञ्ज भाटभटिनीमा पनि सीताराम दुध तथा दुग्धजन्य पदार्थ राख्न थालिएको छ । दुधको वितरण उपत्यकामा मात्र रहेको छ भने घ्यूको वितरण उपत्यका बाहिर राम्रो छ ।

पछिल्लो समय समग्र डेरीमा दुग्धजन्य पदार्थको गुणस्तर कस्तो रहेको पाउनु भएको छ ? प्याकेटको दुध सिधै पिउन सकिन्छ भन्ने सुनिएको थियो यो साच्चै हो ? स्पष्ट पारिदिनुस् न ?
पहिलाको तुलनामा दुधको गुणस्तरमा धेरै सुधार भएको छ । दुधसँग पटक पटक कोलिफर्म (जीवाणु)को कुरा जोडिएर आउने गरेको छ । यो विषादी होइन, दुधलाई उमालेर खाए कोलिफर्मले कुनै असर गर्दैन । भौगोलिक बनावट अनुसार वस्तु उत्पादनको मापदण्डतय गर्नु पर्छ । विदेशी नीति नियमलाई नक्कल गर्नु भन्दा वातावरण अनुसार उत्पादित वस्तुअनुसारको नीति बनाउनु पर्छ । गुणस्तरिय दुध भएपनि उपभोक्तालाई उमालेरै प्रयोग गर्न हाम्रो सल्लाह रहेको छ । सिधै प्याकेटबाट काटेर पिउने अवस्था हामीले सिर्जना गर्न सकिरहेका छैनौ । सबैको साथ र सहयोग भए हामी यसबाट पनि मुक्त हुन सक्छौ ।

केडिया समूहको आगामी दिनका योजनाहरु के छन् ? कसरी अगाडी बढ्दै हुनुहुन्छ ?
कृषि क्षेत्र प्रति मेरो भिन्न प्रकारको आत्मियता गाँसिएको हुँदा म यस क्षेत्रलाई निरन्तर रुपमा अगाडी बढाउने छु । पछिल्लो समय दैनिक जीवनका उपभोग्य वस्तुहरु दुधसँगसँगै तरकारी फलफुलको क्षेत्रमा केहि गर्नु पर्छ भन्ने सोच पनि विकास भएको छ । आफुलाई यसै क्षेत्रमा स्थापित गर्ने तयारीमा छु । हामी आफ्नै उत्पादनमा आत्मनिर्भर हुनसक्ने सम्भावना हुँदा हु्ँदै पनि किन प्रयास नगर्ने भन्ने हिसावले यस क्षेत्रमा केहि गर्ने विचार आइरहेको छ ।

कति लगानी तथा रोजगारी सिर्जना भएको छ डेरी उद्योगमा हाल ?
डेरी व्यवसायमा करिब २० अर्ब लगानी रहेको छ । पाँच लाख किसानहरु यसमा आवद्ध छन् भने उद्योग स्तरमा हाल २० हजार भन्दा बढी आवद्ध छन् । कुल ग्रार्हस्थ्य उत्पादनको ९ प्रतिशत यस क्षेत्रले सहयोग पुराएको छ ।

कृषि क्षेत्रमा विदेशी लगानीको सम्भावना कस्तो छ ?
यस क्षेत्रमा विदेशी लगानीको सम्भावना जति पनि छ । नेपाल कृषि उपजमा आत्मनिर्भर हुँदै गइरहेको अवस्था छ । यसलाई अगाडी बढाउने दायित्व हाम्रो हो । त्यो क्षेत्रमा बाहिरी कम्पनीहरुले नेपालको बजारलाई धोस्त बनाउन लाग्दै गरेको अवस्था छ । अहिले मौरी, माछा र दुधमा ८०-९० प्रतिशत आत्मनिर्भर भईसकेको अवस्था छ । फेरि पनि विदेशी कम्पनीहरु विभिन्न तवरले प्रवेश गरिरहेका छन् । यसको असर हाम्रा आम किसान तथा उद्योगमा पर्न जाने देखिन्छ । आफ्नै माटोमा केहि गर्नु पर्छ भन्ने कुरालाई उनीहरुको लगानी तथा प्रविधिले साँघुरो बनाउँछ । टिक्न सकिदैन । त्यसकारण अब नेपाल सरकारले आफ्नो स्पष्ट नीति र नियम अनुसार नेपाली आत्मनिर्भर बनाउने हो कि अझै पनि विदेशीको पछि लाग्ने हो त्यसमा ध्यान दिनु पर्ने समय आएको देखिन्छ । उद्योगलाई मात्र स्थापित गर्ने हो कि हजारौं र लाखौ किसान र सयौं उद्योगलाई स्थापित गर्ने हो त्यो सरकारले तय गर्नु पर्छ । यसका राम्रा नराम्रा पक्षहरु सरकारका अगाडि राख्न हामी तयार छौं ।

Share News