काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले आधारभूत स्वस्थ्य उपचार यसै वर्षदेखि निकै सस्तो हुने बताएका छन् । आधारभूत स्वस्थ्य उपचार गर्दा विरामीले खल्तीबाट तिर्नु पर्ने पैसा ६ महिनाभित्र ९५ प्रतिशत घट्ने उनको भनाई छ । आधारभूत स्वास्थ्य उपचार निःशुल्क गरिने व्यवस्था संविधानमा नै गरिएकोले त्यसलाई कार्यान्वयन गर्न वर्तमान सरकारले आधारभूत स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न चालु आर्थिक वर्ष २०७६/७७ मा बजेटमा ३५ अर्ब रुपैयाँ बजेट राखिएको बताए ।
पहिलो चरणमा सरकारी बाहेक सामुदायिक, सहकारी मोडलमा चलेका अस्पतालमा यस्तो सुविधा दिने उनले बताए । ६ महिनाभित्र यस्तो सेवा देशभरका सरकारी, सामुदायिक र सरकारी अस्पतालमा पाउने उनले बताए । दोस्रो चरणमा निजी क्षेत्रका अस्पतालमा पनि यस्तो सेवा विस्तार गर्ने सरकारको सोच रहेको उनले बताए । सुमेरु सामुदायिक अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य राज्यमन्त्री डा. यादव निजी क्षेत्रको लगानीमा सञ्चालन भईरहेको अस्पतालहरुप्रति नकारात्मक धारणा त्याग्नु पर्ने बताए ।
देशभरमा देशभर २४ शैयाको अस्पतालहरु भएको, त्यसमा सरकारी ७ हजार र निजी १७ हजार भएको जानकारी दिदै उनले भने-‘हामीले निजी क्षेत्रलाई गाली गरेर मात्र हुँदैन । निजी क्षेत्रले १७ हजार शैयाको अस्पताल नचलाएको भए नेपालीहरु नेपालमा उपचार नपाएर कि विदेश जानु पर्दथ्यो, कि उपचार नपाएर अकालमा मर्नु पर्दथ्यो ।’
विरामीको बेलैमा उपचार गर्न सबै पक्ष सजग हुनुपर्ने उनले बताए । ‘विरामीलाई ९-१० दिनसम्म अस्पलात नलैजाने परिवारलाई हामी दोषी देख्दैनौ । तर अस्पताल पुगेपछि विरामीको निधन भयो भने चिकित्सक र अस्पताललाई दोष दिन्छौं । तोडफोडमा गर्न थाल्छौं’ उनले भने-‘विरामी र उसका परिवारले पनि समयमै उपचार गराउन लैजानुपर्यो ।’
उनले मृगौला रोगीको उपचार गर्दा निजी क्षेत्रका अस्पताललाई दिइने सुविधा सरकारी अस्पताललाई दिने भन्दा केही बढी हुनुपर्ने तर्क अगाडि सारेका छन् । मृगौलाका विरामीलाई डाइलेसिस गर्दा हरेक पटक २ हजार ५०० रुपैयाँका दरले सरकारी अस्पतालले सरकारबाट पैसा पाउँछ । सरकारी अस्पताल बनाउने सरकारले लगानी गरेको छ । मेसिन किन्न सरकारले लगानी गरेको हुन्छ । चिकित्सक, नर्स, प्रशासनका सबै कर्मचारीको तलव सरकारले दिएको हुन्छ ।
‘निजी क्षेत्रका अस्पतालमा डाइलेसिस गर्दा २ हजार ५०० रुपैयाँ मात्र दिने हो भने निजी क्षेत्रले चोरी गर्नुपर्छ । ५ जना विरामीको उपचार गरेको छ भने १० जना विरामीको उपचार गरेको रिपोर्ट बनाउँछ’ उनले भने-‘चोरी गर्न नदिने हो भने निजी क्षेत्रको अस्पताललाई न्यायोचित दर तोक्नुपर्छ ।’
हाल ५ जनाको उपचार गरेर १० जनाको रिपोर्ट पेश गर्ने गरेको तथ्य भेटिएको जानकारी बताए । ‘निजी क्षेत्रका अस्पतालले चोर काम गर्न नपर्ने व्यवस्था हामी गर्छौ । उनीहरुलाई कसरी सरकारी हस्पतालको भन्दा बढी लाभ दिने, कसरी चोरीको अवस्था अन्त्य गर्ने भन्ने बारेमा हामी सोचिरहेका छौं’–उनले भने । नेपाली विरामीले निजी क्षेत्रको अस्पताल छोडेर विदेशमा उपचार गर्न जाने परिस्थिति निर्माण नगर्न सरकार सचेत भएको उनले बताए ।
सुमेरु अस्पतालले मृगौला प्रत्यारोपण कार्यमा सफलता प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै उनले विरामीको शल्यक्रिया पूर्व ५० हजार रुपैयाँ, शल्यक्रियाको क्रममा ४ लाख र शल्यक्रिया पछिको उपचारको लागि १ लाख गरि मृगौला प्रत्यारोपण गर्नको लागि प्रतिव्यक्ति ५ लाख ५० हजार रुपैयाँ सरकारले दिदै आएको सुविधा सुमेरु अस्पतालमा उपचार गर्ने विरामीको लागि पनि दिने प्रतिवद्धता उनले जनाएका छन् ।
कार्यक्रममा सुमेरु अस्पतालका अध्यक्ष भरत महर्जनले सुमेरु सिटी हस्पिटललाई १०० शैयाको बनाउने तयारी भइरहेको जानकारी दिए । उक्त हस्पिटलमा २ अर्ब रुपैयाँ थप लगानी हुने उनको भनाई छ ।
‘सुमेरु सिटी नेपालको एउटा राम्रो हस्पिटल हुनेछ । जहाँ सिटीस्क्यान, एमआरआई लगायतको अत्याधुनिक सुविधा हुनेछ’ अध्यक्ष महर्जनले भने । सुमेरु ग्रुपले ३०० शैयाको हस्पिटलसहित मेडिकल कलेज सञ्चालन गर्न चाहेको उनले बताए । तर सरकारले राजधानीमा नयाँ मेडिकल कलेज खोल्न रोक लगाएकोले मेडिकल कलेज खोल्ने प्रयास सफल नभएको बताए ।
‘हामी अरु भन्दा फरक मेडिकल कलेज खोल्न चाहान्छौं । मुख्य कार्यालय राजधानीमा भएपछि हामी देशभर सेवा दिन चाहान्छौं’ अध्यक्ष महर्जनले भने । उनले २०० शैयाको किड्नी अस्पताल बनाउने र सबै प्रदेशमा मृगौला रोग सम्बन्धि सेवा केन्द्र स्थापना गर्ने योजना रहेको बताए ।
उनले निजी लगानीको अस्पतालमा उपचार गर्ने विरामीलाई पनि सरकारी अस्पतालमा उपचार गर्दा पाउने सुविधा दिन सरकारसँग माग गरे । ‘अस्पताल बनाउने पैसा हामी लगानी गछौं । अस्पतालको लागि चाहिने सामाग्री किन्न हामी पैसा लगानी गछौं । डाक्टरको तलव हामी खुवाउँछन् । यी काम गर्न हामी सरकारसँग पैसा माग्दैनौ तर सरकारले सरकारी हस्पिटलमा उपचार गराउँदा विरामीले पाउने सुविधा निजी क्षेत्रका हस्पिटलमा उपचार गराउँदा पनि पाउने व्यवस्था गरियोस्’-उनले भने ।
केहि दिनअघि मात्र सुमेरु अस्पतालले गोरखाका विकास गुरुङ र रामेछापका सुकरानी मोक्तानको निःशुल्क रुपमा मृगौला प्रत्यारोण गरेको छ । प्राडा रमेशकुमार काफ्ले र डा. विरेन्द्र यादवको नेतृत्वमा उक्त प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ ।