
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालमा प्रशारण भइरहेका विदेशी टेलिभिजन च्यानलमा विज्ञापनरहित (क्लीन फिड) नीति लागु गरेरै छाड्ने बताएका छन् । जति दबाब आएपनि, जति छलफल गरेपनि र संसदमा संसोधन प्रस्ताव जति आएपनि सरकारले यो नीति लागू गरेरै छाड्ने बताए । उनले भने-‘क्लिन फिड नीतिबाट सरकार पछि हट्दैन ।’
प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिमा सोमबार विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफल दफावार छलफलमा सञ्चार मन्त्री बाँस्कोटाले यस्तो कुरा बताएका हुन् । यो विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ भने प्रतिनिधि सभामा छलफलको क्रममा रहेको छ ।
क्लिन फिड नीति भारत, अमेरिका कोरिया जस्ता देशमा लागु भएको छ । नेपालमा मात्रै लागु हुन खोजेको होइन । विदेशी च्यानल नेपालमा प्रशारण हुने, विदेशी विज्ञापन प्रशारण गर्ने, तर सरकारले कर पनि नपाउने, यहाँको पैसा विदेश गइरहको छ । यो अवस्थाको अन्त्य गर्न सरकारले यो नीति लागु गरेरै छाड्ने मन्त्री बाँस्कोटाले बताए ।
विदेशी च्यानलमा प्रशारण हुने विज्ञापन नेपालीमा डबिङ हुनु पर्छ । कलकारपनि नेपाली नै हुनु पर्छ–उनले भने । उनले भने–‘यसो भएमा नेपाली संस्कृतिको पनि संरक्षण हुन्छ ।’
अहिले नेपालमा १२ अर्बको औपचारिक विज्ञापनको बजार छ भने ३० अर्बको अनौपचारिक विज्ञापनको बजार छ । क्लीन फीड लागु भएपछि यो रकममा बृद्धि हुने सञ्चारमन्त्री बास्कोटाले बताए । यूट्यूब, फेसबुक जस्ता सामाजिक सञ्जाल मार्फत पनि पैसा विदेश गइरहेको छ, यसतर्फ पनि सरकारको ध्यानाकर्षण भएको उनले बताए ।
टेलिभिजन सेवा प्रदायक संघ-संस्थाहरुले भने सरकारले क्लीन फिड लागू गरेमा सञ्चारमाध्यमहरु धराशायी हुनसक्ने चेतावनी दिंदै आएका छन् ।
नेपाललाई वार्षिक दुई अर्ब फाइदा
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ०७४ साल साउन १ गतेदेखि ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको थियो । तर, नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभिजन प्रसारकको दबावका कारण सरकारपछि हट्यो । ०७४ असार ३१ गते थप तयारीका लागि भन्दै सरकारले ‘क्लिन फिड’ लागू गर्ने निर्णय स्थगित गरेको थियो ।
अहिले विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेका छन् । नयाँ विधेयक पारित भएमा विदेशी च्यानलहरुले नेपालमा त्यस्ता विज्ञापन प्रसारण गर्नका लागि शुल्क तिर्नुपर्ने हुन्छ । अहिले सरकारलाई वार्षिक ७ लाख तिरेर विदेशी च्यानलहरु विज्ञापनसहित नेपालमा प्रसारण हुन सक्छन् । यही शुल्कबाट विदेशी टेलिभिजन सञ्चालकहरुले नेपालमा अर्बौंको विज्ञापन पनि देखाइरहेका छन् । क्लिन फिड लागू हुँदा नेपाललाई वार्षिक दुई अर्ब जति फाइदा हुने सरकारी आँकलन छ ।
के हो क्लीन फिड ?
विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो । यो अवधारणा अन्तर्गत दर्शकले टेलिभिजन च्यानलका ‘कन्टेन्ट’ बाहेक विज्ञापन हेर्नुपर्ने बाध्यता हुँदैन । विदेशी च्यानलले नेपालमा निःशुल्क विज्ञापन प्रसारण गरिरहेको र दर्शकले पनि विदेशी विज्ञापन हेर्नुपरेको बाध्यतालाई अन्त्य गर्दै स्वदेशी विज्ञापनको बजार विस्तार गर्न नेपालमा पनि यस्तो अवधारणा लागू गर्ने तयारी सरकारले गरेको हो ।