काठमाडौं । स्मार्ट पूर्वाधारका लागि ७९२ वटा सरकारी विद्यालयहरु छनौट भएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत अघि सारेको सूचना प्रविधि प्रयोगशाला स्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि ७९२ वटा सरकारी विद्यालय छनौट भएका छन् । यो कार्यक्रमलाई स्मार्ट स्कुल निर्माणको प्रारम्भिक प्रस्थान विन्दु मानिएको छ ।

सरकारले देशभरबाट ८१८ वटा सरकारी विद्यालय छनौट गर्ने कार्यक्रम अघि सारेको भएपनि सबै क्षेत्रबाट पर्याप्त मात्रामा आवेदन नआएपछि ७९२ वटा मात्रै छनौटमा परेका हुन् । छनौटमा परेका स्कुलहरुले नेपाल दूर सञ्चार प्राधिकरण मार्फत २४ वटा कम्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम र २ वर्षका लागि निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् ।
कुन कुन विद्यालय छानिए ? हेर्नुहोस सूचि
२ हजार वटा आवेदनबाट ७ सय ९२ वटा विद्यालय छानिएको प्राधिकरणका उपनिर्देशक प्रदीप पौडेलले जानकारी दिए । सरकारले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिमबाट प्रत्येक निर्वाचन क्षेत्रमा ६ वटा विद्यालय छनोट गर्ने कार्यबिधी बनाएको थियो । प्रदेश नम्बर १, ३, गण्डकी र ५ बाट भने प्रति निर्वाचन क्षेत्र न्युनतम ४ वटा विद्यालय छान्ने योजना बनाएको थियो ।
यसरी छनोट गरिएको विद्यालयलाई करिब १५ देखि २२ लाख रूपैयाँ बराबरको प्राविधिक सामाग्री प्रदान गरिनेछ । विद्यालयले कम्युटर साइन्स पढाउने जनशक्ति भने आफैं प्रदान गर्नुपर्नेछ । यी जनशक्तिलाई तालिम भने प्राधिकरणले तालिम प्रदान गर्नेछ । विद्यालय छनोट गर्दा विद्यार्थी संख्या, पिछडिएको क्षेत्र, दलित जनजाति विद्यार्थीको बाहुल्याता लगायतका पक्षलाई प्रथामिकतामा दिईएको पनि पौडेलले जानकारी दिए ।
प्राधिकरणले तत्कालै प्राबिधिक उपकरण खरिद प्रक्रिया आरम्भ गरेर चालु आर्थिक वर्षभित्रै सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिसक्ने योजना बनाएको छ । त्यसका लागि प्राधिकरणले डेढ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।