
काठमाडौं । महर्जन बिजनेस एसोसिएट प्रालिले काठमाडौंको न्युरोडमा निर्माण गरिरहेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को २१ वटा कबल बुकिङ भएको छ । बुकिङ खुला गरेको एक सातामै सो संख्यामा बुकिङ भएको कम्पनीको भनाई छ ।
काठमाडौं उपत्यका, देशका प्रमुख सहर र विदेशमा रहेका नेपालीसमेतले स्पेस बुकिङ गरेको प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले बताए । उक्त कम्प्लेक्सलाई संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेका कारण विदेशमा रहेका केही नेपालीले बुकिङ गरेको र अरु थुप्रैले चासो राखेर सोधखोज गरिरहेको महर्जनको भनाइ छ ।
युनेस्कोले २२ नोभेम्बर २०१७को एक पत्रमा उक्त कम्प्लेक्सको ‘नियो क्लासिकल’ (नवपारम्परिक) स्वरुपको तारिफ गरिएको छ । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दोजुल्दो भनिएको छ । कम्पनीले गत साता ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको कम्प्लेक्सको स्पेस बिक्रीका लागि विज्ञापन गरेको थियो ।
लोन्ली प्लानेट, ट्रिप एडभाइजरजस्ता विश्वविख्यात पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नैपर्ने सहरको सूचीमा राखेको काठमाडौंको केन्द्र भागमा रहेकाले उक्त कम्प्लेक्समा स्पेस किन्न लगानीकर्ता उत्साहित भएको महर्जनको भनाइ छ ।