काठमाडौं । राजधानीको केन्द्र भागमा रहेको त्रिचन्द्र कलेज सार्ने तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले त्रिचन्द्र कलेजलाई सार्नेबारे निर्णय गर्न लागिएको जानकारी दिएको हो । रानी पोखरीको सौन्दर्यलाई प्रभावित पारेपछि त्रिचन्द्र क्याम्पसलाई सार्ने योजना बनाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले जानकारी दिए ।
‘अहिल्यै धेरै कुरा नभनौं यद्यपी त्रिचन्द्र कलेजलाई अन्यत्र सारेर रानी पोखराको इतिहास र सौन्दर्यको जगेर्ना गर्ने निर्णय हुँदैछ’, बुधबार संसदको विकास तथा प्रविधि समिति बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने । उनले त्रिचन्द्र कलेजसँगै रानीपोखरीको प्रहरी कार्यालय पनि सारेर रानीपोखरीलाई रत्नपार्कको बाटिकासँग पनि जोडिने बताए । ‘रानी पोखरीको इतिहासलाई जोगाउँदै सौन्दर्य प्रवद्र्धनको काम पनि गर्ने हो, यसलाई रत्नपार्कसँग पनि जोडेर वृहत बनाउने योजना बनेको छ’, ज्ञवालीले भने । उनले त्रिचन्द्र कलेजको सरस्वति सदन र घण्टाघरलाई रेट्रो फिटिङ गरेर जोगाउने र अन्य संरचना भने भत्काउने योजना बनेको पनि जानकारी दिए ।
त्रिचन्द्र कलेजको स्थापना चौथो राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा वि.सं. १९७५ मा भएको थियो । नेपालको पहिलो उच्च शिक्षा दिने संस्थाका रुपमा स्थापना भएको कलेजको तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेरले शिलान्यास गरेका थिए । सुरुमा त्रिभुवन चन्द्र कलेज भनिएपनि वि.संं १९८१ बाट यसलाई ’त्रिचन्द्र कलेज’ मात्र भन्न थालिएको थियो ।
रानी पोखरीको सौन्दर्यमा आँच आएको भन्दै यसलाई अन्यत्रै सार्न लागिएको हो । राजा प्रताप मल्लले माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपछि शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले सन १६६५ मा रानी पोखरीको निर्माण गरेका थिए । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए ।
१८० मिटर लम्बाई र १४० मिटर चौडाइ रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ । वि.सं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन् । वि.सं. २०७२ साल बैशाख १२ गतेको ७.८ रेक्टरको बिनाशकारी भुकम्पमा मन्दिरको गजुर सहित मन्दिर क्षति भएको थियो ।