
काठमाडौं । आइतबार जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र देशभरका विभिन्न भागमा बर्षा हुनसक्ने भविष्यवाणी गरेको थियो । पश्चिमी बायुको प्रभाव विस्तारै पूर्वतिर सर्दै जाने भएकोले पूर्व क्षेत्रमा पनि पानी पर्ने सम्भावना रहेको जनाए पनि महाशाखाले आँधी र हुरी आउनेबारे पूर्वानुमान गरेन । तर सोही दिन भारतीय मौसम पूर्वानुमान प्रणालीले भने विहारको उत्तरी क्षेत्रमा त्यस्तो प्रकृतिको आँधिको भविष्यवाणी गरेको थियो, जसले नेपालको बारा र पर्सा कै क्षेत्र इंगित गरेको थियो ।
विगतमा वर्षा र हिमपातको भविष्यवाणी पनि नमिलाउने नेपालको मौसम पूर्वानुमान प्रणालीमा ल्याएको सुधारपछि पानी पर्ने र हिमपात पर्ने सन्दर्भमा गर्ने भविष्यवाणी केही हदसम्म मिल्न थाले पनि हावाहुरी आउनेबारे भने पूर्वानुमान गर्ने गरेको छैन । जसका कारण सम्बन्धित क्षेत्रका जनताले प्रकोपको पूर्व तयारी गर्न पाएनन् । जसकाे प्रभावस्वरुप भीषण हावाहुरीका कारण आइतबार मात्रै प्रदेश २ अन्तर्गत तराईका बारा र पर्सा जिल्लामा ठूलो मानवीय र जनधनको क्षति भएको छ । हुरीले ३१ जनाकाे ज्यान लिएकाे पुष्टि भइसकेकाे छ भने कराेडाैं बराबरकाे क्षति भएकाे बताइएकाे छ जसकाे विस्तृत विवरण आउन बाँकी रहेकाे राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
यदि नेपालकाे माैसम पूर्वानुमान प्रणालीले त्यस्तो भविष्यवाणी समयमा गरिदिएकाे थियो भने उक्त प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण हुन सक्थ्यो ।
फागुन महिनामा १४ कराेडकाे क्षति
देशभर भएका प्राकृतिक प्रकोप र दुर्घटनामा एक महिनामा करिब १४ करोडको क्षति भएको छ । फागुन महिनाभर भएका विभिन्न घटनाहरुमा ११ जनाले ज्यान गुमाउँदा कुल १३ करोड ९५ लाख रुपैंया बराबरको क्षति भएको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ । क्षति भएकामध्ये सबैभन्दा बढी आगलागीको कारणले १३ करोड ६७ लाख भएको छ । त्यस्तै, चट्याङले २३ लाख, बर्षाले २० लाख र जंगली जनाबरको आतंकले करिब साढे ३ लाखको क्षति भएको समेत केन्द्रले जानएको छ ।
केन्द्रका अनुसार उक्त अवधिमा २५१ ओटा घटना भएका थिए २९३ ओटा आगलागीका घटना भएका थिए भने २९ ओटा चट्याङ्, १८ ओटा जंगली जनावरको आक्रमण, ७ ओटा पहिरो तथा १/१ ओटा हिमपात, डुङ्गा दुर्घटना, भीषण वर्षा र असिनाका घटनाहरु भएका थिए ।
उक्त घटनाहरुमा मृत्यु भएका १५ जनामध्ये सबैभन्दा धेरै आगलागीमा परि ६ जना, चट्याङले ४ जना र अन्य घटनाहहरुबाट ४ जनाको ज्यान गएको छ भने ती घटनाहरुबाट जम्मा ८७ जना मानिसहरु घाइते भएका छन् ।
त्यस्ता घटनाले देशभरका ५८२ परिवार प्रभावित भएकोमा डँढेलोले सबैभन्दा धेरै ४४३ परिवारलाई प्रभावित बनाएको छ । जसबाट कुल १८३ ओटा घर पूर्ण र २२ ओटा घर आंशिक रुपमा नष्ट भएको छ । त्यस्तै, जम्मा १५८७ ओटा घरपालुवा जनावरहरुको क्षति हुँदा सबैभन्दा बढी असिनाका कारण १३८४ र आगलागीका कारण १७८ ओटाको क्षति भएको छ । एक महिनाको अवधिमा सडक दुर्घटनाबाट भने २०६ जनाको मृत्यु र ६३२ जना घाइते भएका थिए ।
उक्त प्रकोपका कारण ३१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने करोडौं बराबरको जनभनको नष्ट भएको बताइएको छ । यद्यपि क्षतिको पूर्ण विवरण आउन केही दिन लाग्नसक्ने र अहिले भने विपद्पछिको पहिलो सहायतामा नै ध्यान केन्द्रित गरेको केन्द्रले जनाएको छ । हुरीबाट कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश २ सरकारले भने ३ लाख रुपैंया राहत दिने निर्णय गरिसकेको छ ।