
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ब्रोकरहरुलाई शाखा विस्तार गर्न आह्वान गर्दैगर्दा ब्रोकरहरुले भने शाखा नभई सेवा विस्तार गर्न प्रस्ताव गरेको छ । ब्रोकरहरुले सबै क्षेत्रमा सेवा विस्तार गर्न र लागत न्यूनीकरणका लागि ब्रोकरहरुको शाखा भन्दा एजेन्ट मोडेलमा गएर सेवा विस्तार गर्न पाउनुपर्ने माग गरेको हो । त्यसका लागि धितोपत्र बजारसम्बन्धी ऐन तथा नियमावलीमा पनि यस्तो व्यवस्था भएको भन्दै सोही मोडेलबाट अघि बढे बृहत् क्षेत्र र कारोबारसम्म जान सकिने निष्कर्ष निकाल्दै धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जसँग समेत छलफल गरेको नेपाल स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए ।
‘हामीले पहिले नै शाखा विस्तारका आवश्यकताहरु धेरै भएकोले त्यसलाई घटाउनुपर्ने माग गरेका थियौं, तर पछि शाखा मात्रै नभएर कारोबार प्रतिनिधिमार्फत् पनि कारोबार गराउन पाउने व्यवस्था ऐन र नियमावलीमा पनि रहेकोले यो मोडेलबाट जानुपर्छ भनेर हामीले कुरा गरेका थियौं ।’ रानाभाटले भने- ‘एजेन्ट मोडेलमा जानेबारे सेबोन र नेप्सेको धारणा के हो, त्यसैका आधारमा हामी अघि बढ्छौं ।’
शाखा मोडेलमा जाने हो भने प्रत्येक शाखामा हालका शाखामा जस्तै पूर्वाधार चाहिन्छ, अनलाइन कारोबार प्रणाली आइसकेको अवस्थामा इन्टरनेट भएका ठाउँमा एजेन्टहरुलाई लगइन र पासवर्ड दिने, त्यसैका आधारमा उनीहरुले कारोबार गराउने, नयाँ ग्राहकहरुलाई ब्रोकरहरुको कारोबार प्रणालीमा जोडिदिने, केवाईसी तथा अन्य फर्महरु भर्न सहजीकरण गरिदिने काम एजेन्टलाई दिने गरी अघि बढ्न पाउने हो भने यसले बजारको दायरा धेरै फराकिलो बनाउन सकिने ब्रोकरहरु तर्क छ । नेप्सेले शाखा विस्तार गर्न आह्वान गरे पनि त्यसका लागि कस्तो प्रावधान रहने भन्ने स्पष्ठ नभएको उनीहरुको भनाई छ । ब्रोकरहरुले अहिले व्यवस्था भएकै पूर्वाधार पुर्याएर शाखा विस्तार गर्न सहज नभएको समेत बताएका छन् ।
नेप्सेले भने धितोपत्र बोर्डले दिएको निर्देशनलाई आफूहरुले कार्यान्वयन गर्दै ब्रोकरहरुलाई परिपत्र गरेको भन्दै शाखा विस्तार गर्दा कस्तो रिक्वायमेन्ट चाहिने वा कुन मोडेलमा जाने भन्ने विषय आफ्नो नभएको भन्दै बोर्डको निर्देशनअनुसार नै अघि बढ्ने बताएको छ ।
एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले नेप्सेको सर्कुलरमा द्विविधा हुनुपर्ने केही विषय नभएको भन्दै हाल नप्सेले शाखा विस्तार गर्न इच्छुक कम्पनीहरुका लागि बाटो खुला गरिदिएको बताए । उनले नेपाल स्टक एक्सचेञ्जका लागि धितोपत्र बोर्डले दिएको निर्देशन, नियमावली वा ऐन सबै कानूनसरह नै हुने भन्दै बोर्डको निर्देशनमा मात्रै अन्य मोडेलहरुबारे सेवोनले नै निर्णय गने बताए ।
हाल नेपालको शेयर बजार शहरकेन्द्रित मात्रै भएको भन्दै यसको पहुँचको क्षेत्र विस्तारबारे आवाज उठ्दै आएको छ । सञ्चालनमा रहेका ५० ब्रोकरले उपत्यका बाहिरका शुख्य शहरहरुमा ४१ वटा शाखा सञ्चालनमा ल्याएकाे र बाँकी केही शहरहरुमा थप शाखा विस्तार गर्ने तयारी गरेकाे ब्राेकर एशाेशिएसनका अध्यक्ष रानाभाटले जानकारी दिए । स्थानीय तहहरुमा शाखा विस्तार गर्न भने आर्थिक रुपले सम्भाव्य नहुने निष्कर्ष सहित ब्राेकरहरुले याे माेडेलअनुसार सेवा विस्तार गर्नुपर्ने माग गरेका हुन् ।
अर्थ मन्त्रालयले यसअघि गठन गरेको समितिले भने पुँजीबजारको विस्तारका लागि ब्रोकरका शाखा सञ्जालहरु देशभर विस्तार गर्नुपर्ने सुझाव अर्थ मन्त्रालयलाई दिएको थियो । त्यही सुझावअनुरुपको निर्देशन धितोपत्र बोर्डले नेप्सेलाई र नेप्सेले ब्रोकरहरुलाई दिएको हो ।