
काठमाडौं । नेपालको सेयर बजारमा संस्थापक सेयर किनबेच ज्यादै कम हुने गरेको थियो । तर, पछिल्लो समय साधारण सेयरको तुलनामा संस्थापक सेयरको खरिद बिक्री उच्च छ ।
गत चैतको पहिलो दुई सातामा जम्मा १० दिन सेयर कारोबार भयो । त्यसमा ६ दिन सबैभन्दा बढी सेयर कारोबार ती संस्थाको भए जसको संस्थापक सेयर कारोबार बढी भए ।
दुई सातामा चार बैंक तथा वित्तीय संस्थाको मात्र कुल १९ करोड ४५ लाख रुपैयाँ बढीको संस्थापक सेयर किनबेच भएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, मुक्तिनाथ विकास बैंक र नेपाल बङ्गलादेश बैंकको गरी सो मात्राको संस्थापक सेयर दोस्रो बजारमा किनबेच भएको हो ।
चैत ३ गते आइतबार शाइन रेसुङ्गाको ४ करोड ४३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै, चैत ४, ५ र ७ गते तीनै दिन ग्लोबल आईएमईको संस्थापक सेयर बढी कारोबार भएको थियो । बैंकको लगातार तीन दिनमा कुल ९ करोड ३६ लाख रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको थियो ।
त्यसैगरी, चैत ११ र १२ गते क्रमशः मुक्तिनाथ विकास बैंक र नेपाल बङ्गलादेश बैंकको ठूलो मात्रामा संस्थापक सेयर खरिदबिक्री भएका थिए । त्यस्तै, सानिमा विकास बैंकको करिव ५० करोड रुपैयाँ मूल्य पर्ने सवा २७ लाख कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखिएको छ ।
आकर्षण कि बाध्यता
सरकारी नीतिमा यस्तो छ कि संस्थापक सेयरलाई स्टक मार्केटमा सौताको छोराको रुपमा हेरिन्छ । साधारण सेयर धितो राखेर बजार मूल्यको ६० प्रतिशत कर्जा पाइन्छ भने संस्थापक सेयर धितो राखेर बजार मूल्यको बढीमा २५ प्रतिशत धितो पाइन्छ । धेरै बैंक तथा वित्तीय संस्थाले प्रमोटर सेयर धितोको रुपमा स्वीकार नै गर्दैनन् ।
संस्थापक सेयर सोही संस्थाका संस्थापकले नकिनेको अवस्थामा मात्र अरुलाई बेच्न पाईन्छ । संस्थापक सेयरको मूल्य सामान्यता साधारण सेयरको मूल्यभन्दा झण्डै आधा हुन्छ । यस्ता धेरै कारणले संस्थापक सेयरको किनबेच नै बढी कठिन हुन्छ ।
तर पछिल्लो समय किन संस्थापक सेयर कारोबार बढी भएको छ ? नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार भन्छन्- ‘एक व्यक्तिको स्वामित्वमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा १ प्रतिशत वा सोभन्दा बढी सेयर छ भने अर्को संस्थामा प्रवद्धक सेयर लिन नपाईने राष्ट्र बैंकको नियमका कारण दुई वा दुई भन्दा बढी बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयर धेरै भएका सेयरधनीले सेयर बेचेको हुन सक्छ ।’
बैंक अफ काठमाण्डूका संस्थापक डब्बर बहादुर मल्लले सिभिल बैंकको संस्थापक सेयरमा लगानी गरेको भेटिएपछि राष्ट्र बैंकले दुबैं बैंकलाई मल्लको लाभांश रोक्न निर्देशन दिएको छ । बैंक अफ काठमाण्डूबाट मात्र उनको ३ करोड रुपैयाँ बराबरको लाभांश रोकिएको छ ।
मल्लले पाउने लाभांश रोक्न राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकिङ क्षेत्रमा क्रस होल्डिङ भएकाले सेयरधनीहरु आत्तिएर सेयर बेच्न थालेको बैंकिङ क्षेत्रमा चर्चा छ । यस्ता सेयरधनीले नयाँ बैंकको सेयर छोडेर पुरानो बैंकको सेयर होल्ड गरेका छन् ।
क्रस होल्डिङ हुनेहरुलाई सेयर बेच्नु पर्ने बाध्यता हुँदा नयाँ लगानीकर्ताको लागि भने यतिबेला प्रमोटर सेयर किन्नु लगानीको उचित अवसर पनि हो । राम्रो कम्पनीको साधारण सेयरको मूल्य पनि निकै कम भएको र त्यहि मूल्यलाई आधार मानेर प्रमोटर सेयर झन् सस्तोमा किन्न पाइने भएकाेले चलाख लगानीकर्ता यस्तो सेयरमा आकर्षित भएको पाइन्छ ।
पहिला अरुको नाममा संस्थापक सेयर लिएका तथा यसअघि नै कारोबार भएको तर नामसारी हुन बाँकी रहेका संस्थापकहरु पनि अहिले नामासारी गर्न आएको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले बताए । विश्वास पात्रहरुबीच सेयरको मूल्य उच्च भएको बेलामा कारोबार भएपनि पुँजीगत लाभकर छल्नको लागि बजार घटेको बेलामा नामसारी गर्ने गरेको समेत भेटिएको उनले बताए ।
‘बढी मूल्य भएको बेलामा बढी पुँजीगत लाभकर लाग्छ, कम मूल्य भएको बेलामा कम कर लाग्छ । मूल्य घटेको बेलामा ठूला कारोबार हुनुको कारण त्यो पनि हुन सक्छ’ सीईओ साउदले विकासन्युजसँग भने ।