
काठमाडौं । संघीय सरकारको बजेटअनुरुप चालु खर्च ५० प्रतिशत नाघेको छ । चालु आर्थिक वर्षको चैत १४ गतेसम्म आइपुग्दा चालु खर्चतर्फ विनियोजन गरिएको ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैंयामध्ये ४ खर्ब २७ अर्ब २१ करोड ८२ लाख रुपैंया खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यो विनियोजित बजेटको ५०.५३ प्रतिशत हो ।
पुँजीगत र वित्तीय व्यवस्थातर्फको खर्चमा भने सरकारको प्रगति निराशाजनक देखिएको छ । उक्त अवधिमा पुँजीगत खर्च ३१.१८ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्चको प्रगति २८.८८ प्रतिशतमा सीमित रहेको देखिएको हो । बिहीबारसम्म पुँजीगत खर्च ९८ अर्ब ३१ करोड ५८ लाख र वित्तीय खर्च ४४ अर्ब ९७ करोड ६८ लाख रुपैंया खर्च भएको हो । बजेटले पुँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैंया विनियोजन गरेको थियो ।
राजश्वतर्फ भने सरकारले हालसम्म ५४.९५ प्रतिशत लक्ष्य हासिल गरेको छ । जम्मा ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैंया राजश्व लक्ष्य निर्धारण गरेको सरकारले बिहीबारसम्म ४ खर्ब ५६ अर्ब ८० करोड २१ लाख रुपैंया राजश्व संकलन गरेको हो । यसमध्ये ४ खर्ब १२ अर्ब १४ करोड ७३ लाख कर राजश्वबाट र बाँकी ४४ अर्ब ६५ करोड ४९ लाख गैरकरतर्फको राजश्व प्राप्त भएको कार्यालयले जनाएको हो । उक्त आम्दानीमा अनुदान र अन्य अनियमित आम्दानीहरु समावेश नगरिएको समेत महालेखाले स्पष्ठ पारेको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक ६ महिनाको प्रगतिका आधारमा बजेटको ९१।२ प्रतिशत अर्थात् ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने संशोधित अनुमान गरेको छ जसमध्ये चालु खर्चतर्फ ९४.४ प्रतिशतले हुने ७ खर्ब ९८ अर्ब ४४ करोड, पुँजीगततर्फ ८४।५ प्रतिशतले हुने २ खर्ब ६५ अर्ब २६ करोड र वित्तीय व्यवस्थातर्फ ८७ प्रतिशतले हुने १ खर्ब ३५ अर्ब ४४ करोड खर्च हुने अनुमान गरेको हो ।
सरकारको संशोधित अनुमान अनुसारकै खर्च हुन पनि अब ६ खर्ब २८ अर्ब ६३ करोड ९२ लाख रुपैंया खर्च गर्नुपर्ने भएको छ । आकस्मिक बिदा नभए असार मसान्तसम्म अब ९१ दिन सरकारी कार्यालयहरु खुल्नेछन् । यो अवधिमा सरकारी संशोधित लक्ष्य पुरा गर्न पनि दैनिक ६ अर्ब ९० करोड ८१ लाख खर्च गर्नुपर्नेछ तर बिहीबार भने १ अर्ब ६२ करोड ७१ लाख रुपैंया मात्र खर्च भएको थियो ।