
जनकपुर । पाँच जनाको ज्यान जाने गरी ६ वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
विस्फोटनमा संलग्न र वारदातको योजना बुनेका ७ जनामाथि ज्यान मार्ने र ज्यान मार्ने उद्योग दुवै मुद्दामा अदालतले बिहीबार अपराह्न फैसला सुनाएको हो ।
न्यायाधीश राजेश कटुवालको इजलासले ५ दिन लामो सुनुवाइपछि प्रतिवादीमध्ये ७ जनालाई जन्मकैद, एकजनालाई १० वर्ष कैद र फरार ४ जनाको हकमा मुद्दालाई मुल्तबी राखेको हो । बम विस्फोटन गर्ने व्यक्तिको नाममा १० हजार रुपैयाँ काठमाडौंबाट आईएमई गरेका सुजित पाण्डेलाई भने अदालतले सफाइ दिएको छ ।
२०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा बम विस्फोटको योजना बुनेको ठहर गर्दै धनुषा अदालतले पूर्वराज्यमन्त्री साह, भूमिगत सशस्त्र संगठनका नाइके मुकेशकुमार चौधरी र राजन मुक्ति भनिने रञ्जित झालाई जन्मकैदको फैसला सुनाएको छ । ज्यान मार्ने उद्योगमा यी तीनैजनालाई १२ वर्षको कैद पनि सुनाइएको छ । विस्फोटनमा प्रत्यक्ष संलग्न रहेका जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र रिपेन्द्र झालाई ज्यानसम्बन्धी महलको १/१३-१) र १५ नं. को कसुरमा सोही महलको १३-१) बमोजिम जनही जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार राधाकान्त झाले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।