काठमाडौं । लगानी सम्मेलनमा भाग लिन आउने चाहाने १६ सय भन्दा बढी विदेशी उद्यमी व्यवसायीको प्रस्तावलाई सरकारले अस्वीकृत गरेको छ । लगानी बोर्डले निम्ता गरेपछि आउन तयार भएको सम्भावित लगानीकर्ताले अन्तिम समयमा सहमति नपाएका हुन् ।
सम्मेलनमा सहभागिताका लागि इच्छा देखाएका सबैलाई भित्र्याउने चाहना हुँदा हुँदै पनि सम्मेलन गर्ने हल सानो भएकोले आफ्नै निम्तापछि आउने तयार भएको १६ सय भन्दा बढी पुँजीपतिलाई सरकारले सहमति दिन नसकेको हो । त्यस्तै, लगानी सम्मेलनमा भाग लिन इच्छुक हजारौ नेपाली पनि अन्तराष्ट्रिय स्तरमा सम्बन्ध राख्ने उचित अवसर गुमाएका छन् ।
लगानी बोर्डका अनुसार चैत १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनमा भाग लिन करिव ६ हजार मानिसलाई पत्र तथा इमेल गरिएको थियो । ‘सकेसम्म धेरै विदेशी लगानीकर्तालाई सहभागि गराउने उदेश्य थियो’ बोर्डका प्रबक्ता बलराम रिजालले भने–‘गत सम्मेलनमा लगानी गर्ने आसय व्यक्त गरेका, लगानी बोर्ड स्थापना भएदेखि लगानीको लागि नेपालमा लगानीको लागि चासो राख्दै बोर्डमा सम्पर्कमा गएको, विदेशस्थित नेपाली दुतावासहरुले पहिचाहन गरि नेपालमा लगानी गर्न सक्ने सम्भावना भएको पुँजीपतिहरुलाई हामीले लगानी सम्मेलनमा भाग लिन निम्ता गरेका थियौं ।’

हल सानो भएकोले बोर्डले ६ सय ५० जनालाई विदेशी पाउनालाई मात्र सम्मेलनमा भाग लिन पाउने अनुमति दिएको हो । ‘शुरूमै इच्छा प्रकट गर्ने ६३० जनालाई सहमति दियौं । पछि नेपालस्थित विभिन्न देशका राजदूताबासबाट अनुरोध आएपछि २० जनालाई थपेका छौं’ बोर्डको उच्च अधिकारले भने ।
ठूलो सम्मेलन हल नभएकोले लगानी सम्मेलनमा भाग लिन आवेदन गरेको विदेशीहरुलाई सहमति दिन नसकेको विषय प्रधानमन्त्री केपी शर्माले अध्यक्षता गरेको बैठकमा समेत उठेको तर अन्य विकल्प पनि नभएकोले सोल्टी होटलमा नै सम्मेलन गर्ने निर्णयमा पुगेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।
धेरै जना पाहुनालाई सहभागि गराउन सक्ने सुविधा सम्पन्न हलको अभावका कारण इच्छुक विदेशी र नेपाली इच्छुक सबैलाई सहभागी गराउन नसकिएको अर्थमन्त्री युवाराज खतिवडाले सार्वजनिक रुपमा नै बोलेका छन् । नेपालको एक मात्र अन्तराष्ट्रिय सम्मेलन स्थल ‘बीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र’लाई सरकारले ससद् भवन बनाएपछि सुविधा सम्पन्न सम्मेलन हलको अभाव रहेको छ ।
लगानी सम्मेलनमा विदेशी लगानीकर्ता मात्र नभई स्वदेशी लगानीकर्ता समेत सहभागी हुन पाएका छैनन् । सम्मेलनमा नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सका प्रतिनिधिलाई मात्र निम्ता गरिएको छ ।

सोल्टी होटलको हलमा ५०० जना सहभागि हुँदा सुविधाजनक रुपमा व्यवस्थापन गर्न सकिन्छ । तर बोर्डले हल भित्र र हल बाहिर गरी १ हजार २०० जनासम्म सहभागी गराउने तयारी गरेको छ ।
लगानी सम्मेलनका ठूलाे संख्यामा राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व, कुटनीतिक नियाेगका प्रतिनिधि र सञ्चारकर्मीहरूलाई सहभागि गराउनु पर्ने वाध्यता रहेकाे बाेर्डका अधिकारीहरू बताउँछन् ।
नेपालमा प्रतिष्ठिन र उदाउदा सयौं व्यवसायीहरुले सम्मेलनमा सहभागि हुन इच्छा प्रकट गरेको तर स्थान अभावको जनाउँदै बोर्डले प्रवेश पास नदिएको व्यवसायीहरुको गुनासो छ । सम्मेलनमा भाग लिन नपाउँदा नेपालमा लगानी गर्न इच्छुक विदेशी उद्यमीसँग सम्बन्ध जाेड्ने राम्राे अवसर नेपाली व्यवसायीले गुमाएकाे पर्यटन व्यवसायी कुमार थपलियाले बताए ।
लगानी सम्मेलनमा नेपाल आउने, नेपालमा लगानीकाे वातावरण बुझ्न चाहाने १६ सय भन्दा बढी विदेशी उद्यमी व्यवसायीलाई नेपाल भित्र्याउन नसक्नु बढाे दुःख लाग्दाे खवर भएकाे नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्य बताउँछन् । ‘हामी २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भिजिट नेपाल २०२० मनाउँदै छाैं । यस्ताे तयारीकाे बेलामा लगानी सम्मेलनमा भाग लिन इच्छुक सबैलाई सहभागि गराउन सक्नु पर्दथ्याे’ बैद्यले भने ।
यस्ताे सम्मेलनमा आउने खगन्तुक खर्चालु हुने भएकाेले पर्यटन क्षेत्रलाई पनि ठूलाे टेवा पुग्ने बैद्य बताउँछन् । सम्मेलनमा सहभागी हुने विदेशीलाई सम्मेलनस्थलमा खान र बस्ने प्रबन्धका लागि मात्र सरकारी रकम खर्च हुने, बाँकी सबै खर्च सहभागी हुने आफैले गर्ने व्यवस्था गरिएकाे छ ।