
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । उक्त सभाले आव २०७४/०७५ मा भएको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । कर्पोरेशनले कूल १ अर्व १० करोड ८१ लाख नाफा आर्जन गर्न सफल भएको थियो ।
कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुंदै आव २०७४/०७५ मा ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएको बताए । अघिल्लो वर्ष ८ अर्व ५८ करोडको कारोवार भएको थियो । अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य भन्दा कम मूल्यमा सामान बिक्री गर्नु परेकोले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको जानकारी गराए ।
चिनी आयातमा भएको व्यवधान वारे जानकारी गराउंदै उनले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पुर्याउंदै आफ्नो कारोेबारमा सकारात्मक सुधार सहित अगाडि बढेको बताए ।
कर्पोरेशनले भूकम्प प्रतिरोधात्मक प्रविधिको घर निर्माण गर्ने उद्देश्य अनुसार कर्पोरेशनको समेत लगानीमा फ्यूचर वक्र्स विल्डिङ्ग सोलुसन प्रालि कम्पनी स्थापना गरी निर्माण सामग्रीको उत्पादन सुरु गरेको छ । कर्पोरेशनको सहायक कम्पनी उपहार हाउजिङ्ग कम्पनी लिमिटेडले उक्त प्रविधिको घरहरु निर्माण गरी बिक्री गर्ने उद्देश्य अनुरुप चन्द्रागिरी नगरपालिका स्थित आफ्नै जग्गामा सो कार्यको थालनी गरेको छ ।