काठमाडौं । अघिल्लो लगानी सम्मेलनमा १३ खर्ब भन्दा बढीको लगानी गर्ने आसय व्यक्त भएको थियो । आसय व्यक्त गरिएकामध्ये हाल २ खर्ब ९७ अर्ब रुपैंयाँका चार वटा आयोजनाहरु विभिन्न चरणमा अघि बढेका छन् । आसय व्यक्त गरिएकोमध्ये २५ प्रतिशत लगानी प्रक्रियामा आएको हो । लगानी बोर्डका प्रवक्ता बलराम रिजालले आसयको २५ प्रतिशत लगानी प्रक्रियामा आउनु सकारात्मक भएको बताए ।
यसरी लगानीको प्रक्रिया अघि बढेका आयोजना भने चार वटै उर्जासँग सम्बन्धीत छन् । लगानी बोर्डका अनुसार सबैभन्दा धेरै लगानी गर्न गेजहोउवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालीले डाडागाँउ खलङगा भेरी हाइड्रो २२६ मेगावट र भेरी १ मा ४०० मेगावटका लागी पावरका लागि १ खर्ब ५० अर्ब रुपैंया लगानी तयारी गरेको छ । यसका लागि सो कम्पनीले सर्भे लाइसेन्स् लिइसकेको छ ।
यसैगरी हुम्ला कर्णाली १ मा २३५ मेगावाट र हुम्ला कर्णाली २ मा ३३५ मेगावाट पावर हाउसका लागि सिचुवान वाङपिङ इनर्जी साइन्स एण्ड टेक्नोलोजीको लिमिटेडले १ खर्ब १० अर्ब रुपैंयाको सर्भे लाइसेन्स् लिइसकेको छ । चाइना हारबोर इएनजी कर्पाेरेशनले १५ अर्ब रुपैंयामा सानजेन खोला हाइड्रो पावर ७८ मेगावट २०७४ भदौ ५ गते सम्झौता गरेको छ । यस्तै, डोल्मा फण्डले १७० मेगावाट सोलार प्लान्टका लागि २२ अर्बको लगानी स्वीकृति गरिसकेको छ ।
अघिल्लो लगानी सम्मेलनको अगुवाई गरेका तत्कालिन उद्योग मन्त्री नविन्द्र राज जोशीले भने कुल आसय व्यक्त गरिएकोमध्ये २५ प्रतिशत मात्रै प्रक्रियामा आउनु सकारात्मक नभएको बताए । उनले सम्मेलनपछि गठन भएका सरकारहरुले लगानी भित्र्याउन ताकेता नगरेकाले थोरैमात्रै प्रक्रियामा आएको बताए । ‘हामीले लगानी सम्मेलन भव्य बनायौं तर त्यसपछिका सरकारले ताकेता गरेनन्, त्यसैले आसय व्यक्त गरेका लगानीकर्ता पनि आएनन्’, जोशीले भने ।
पूर्व मन्त्री जोशीले सरकारले हतार हतारमा लगानी सम्मेलन गरेकाले सफल हुनेमा आंशका व्यक्त गरे । ‘सरकारले हतारमा सम्मेलन गरेको छ, देशभित्र पर्याप्त छलफल भएको गरेको छैन्, सम्मेलनको सफलतामा शंका छ’, पूर्वमन्त्री जोशीले पत्रकार सम्मेलन गरेरै भने । यद्यपी लगानी बोर्डले भने पर्याप्त तयारी गरेर लगानी सम्मेलन आयोजना गरिएको र तयार पारिएका परियोजनाहरुको विस्तृत अध्ययन रिपोर्ट पनि पेश गरिएको बताउँदै आएको छ ।