
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुले निक्षेपमा थोरै र ऋण लिंदा धेरै ब्याज लिने गरेकोले व्यवसायीहरुलाई समस्या परेको बताएका छन् ।
ललितपुर उद्योग बाणिज्य संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । सोही अवसरमा निजी क्षेत्रसँगको सहकार्य बिना सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन नसक्ने बताए ।
केही दिन यता भएका विस्फोटका घटनाले व्यवसायीहरुले असुरक्षित महसुस गरिरहेकाले सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने बताए । सरकारले ल्याउन लागेको विदेशी लगानी तथा प्रविधि हस्तान्तर ऐनमा उल्लेख भएका प्रावधान नेपाली उद्योगी/व्यवसायीहरुलाई प्रोत्साहित गर्ने खालको नभएको उनले प्रतिक्रिया दिए ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल श्रेष्ठले सरकारले लगानी सम्मेलनका लागि छनौट गरेका ६६ योजनामा ललितपुरको एउटापनि योजना नपरेको भन्दै गुनासो गरे । उनले भने– निकट भविश्यमा ललितपुरमा छुट्टै लगानी सम्मेलन गर्ने र त्यसमा जिल्लाको योजना र लगानीबारे छलफल गरिने बताए ।
निजी क्षेत्र उच्च प्राथमिकतामाः महरा
सोही कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राज्यले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने बताए । निजी क्षेत्रको सहकार्य आवश्यक छ–उनले भने ।
सरकारले ल्याएका ऐन कानून संसोधन हुने भएकाले नआत्तिन व्यवसायीहरुलाई आग्रह गरे । छिमेकी देश चीनमा त समाजवाद आउन अझै धेरै वर्ष लाग्छ, हाम्रो देश पनि बिस्तारै समृद्धीको यात्रामा अघि बढेको उनले बताए । कार्यक्रममा सांसद पम्फा भुसालले लगानी सम्मेलनमा प्रस्तुत गरिने योजनामा ललितपुरको योजनापनि पार्न पहल गर्ने बताइन् ।