काठमाडौं । ब्याजदर उचारचढावको श्रृंखलामा दुई कित्तामा उभिएका उद्योगी र बैंकर अन्ततः मिलेका छन् । सोमबार नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसियसनका प्रतिनिधी सम्मिलित छलफलले मिलेर अघि बढ्ने निष्कर्ष निकालेको हो । ‘हामीले सौहार्दपूर्ण वातावरणमा छलफल गरेका छौं, मिलेर अघि बढ्ने निष्कर्ष निकालेका छौं’, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विकासन्युजसँग भने ।
बैंकर र उद्योगीहरुले मिलेर अघि नबढ्दा दुबै पक्षलाई नोक्सानी हुने निष्कर्षसहित समेत निकालेका छन् । ‘उद्योगी र बैंकर भनेका सहयात्री हुन्, मिलेर अघि बढ्दा मात्रै दुबैको हित हुन्छ, हाम्राबीचमा थोरै असमझदारी आएको थियो, आजको बैठकले सबै मिलायो’, महासंघका उपाध्यक्ष श्रेष्ठले भने ।
बैंठकले महासंघका प्रतिनिधी र बैंकरका प्रतिनिधी सम्मिलित कार्यदल समेत गठन गरेको छ । सो कार्यदलले एक हप्ताभित्र छलफल गरेर ब्याजदर सम्बन्धी किचलो अन्त्य गर्ने प्रस्ताव तयार पारेर नेपाल राष्ट्र बैंकलाई पेश गर्नेछ । सोही आधारमा राष्ट्र बैंकले ब्याजदर आन्दोलनलाई सम्बोधन गर्नेछ ।
चैत मसान्तभित्र ब्याजदरको विवाद पूर्णत समाधान हुने पनि श्रेष्ठले दावी गरे । सोमबारको बैठकमा महासंघ अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
बैठकले सबै बैंक तथा वित्तिय संस्थाहरुमा उद्योगीहरुले बुझाउनुपर्ने विवरणमा एक रुपता ल्याउने सहमति पनि गरेको छ । उनीहरुले प्रत्येक ३ महिनामा आफैं छलफल गरेर बजारको अवस्था बुझ्ने र सम्भावित जोखिमबाट जोगिने उपायको खोजी गर्ने निर्णय पनि गरेका छन् ।