
काठमाडौ । पर्यटकीय क्षेत्र ठमेल प्रवेशमा भाडाका खाली ट्याक्सीलाई रोक लगाइएको छ । ३ महिनादेखि थर्ड आई रेष्टुरेन्टको अग्रसरतामा खाली ट्याक्सीलाई रोक लगाइएको हो । खाली ट्याक्सी निषेधले ठमेल क्षेत्रमा सवारी जामको समस्या हटाउन र व्यापार व्यवसायमा सहजता भएको व्यवसायीहरु बताउँछन् ।
यात्रु बोकेर आउने गरेका टयाक्सीमा भने कुनै रोकतोक गरिएको छैन । सञ्चयकोष चोक तथा क्षेत्रपाटीमा गरी २-२ जनाले टयाक्सी व्यवस्थापनमा सघाउदै आएका छन् । ठमेल क्षेत्रमा झट्ट हेर्दा खाली ट्याक्सी रोकिएको जस्तो देखिएपनि कतिपय चालकले तीब्र गतिमा खाली ट्याक्सी ठमेल भित्र लैजाने गरेका छन् ।
ट्याक्सी व्यवस्थापन टोलीमा आवद्ध एक यूवा फूर्वा तामाङ भन्छन्-‘ ठमेल क्षेत्रमा गाडीको व्यवस्थापन गर्न सकेमा नेपाली–विदेशी सबैलाई फाईदा हुन्छ । तर हामीलाई झुटा कारण देखाएर ट्याक्सी चालकहरुले माला बेच्नेलाई चढाएको नाटक गरेर झुक्याउने गरेको बताए ।

ठमेलको त्रिदेवी मार्गमा ट्रेकिङ सामानको व्यवसाय गर्दै आएका सन्तोष पन्त भन्छन्- आजकाल हल्लामा केही कमी भएको छ, यसरी नै धुलो समेत कमी भएको छ, यो राम्रो कुरा हो । पन्तले आफ्नो पसल अगाडी टयाक्सी पार्किङमा कमी हुँदै गएको बताए । अहिले व्यापारमा अफसिजन रहेपनि सरसफाइमा मद्दत पुग्नु व्यापारिक दृष्टीकोणबाट पनि राम्रो रहेको बताए । साथै, विदेशी पर्यटकले शान्त वातावरण रुचाउने भन्दै उनले आगामी दिनमा ट्याक्सीको प्रवेशलाई निषेध गर्नु पर्ने जानकारी दिए ।
विगत ४ बर्षदेखी ठमेलमा रुमन हयाण्डी क्राष्टको व्यवसाय गर्दै आएका मना श्रेष्ठले पछिल्लो समय सवारीका कारण व्यापार चौपट भएको भन्दै निराशा व्यक्त गरे । उनले आफ्नो पसल अगाडि रहेको एटीएममा पैसा झिक्न आउनेले पसल ढाक्ने गरेर सवारी राख्ने गरेको आफू मारमा परेको बताए । उनले भाडाको ट्याक्सी रोक्नका लागि सरकारी निकायबाटै उचित कदम चालिनु पर्ने बताए ।
नर्सिङ चोकको टिवेट हाउसमा कार्यरत थान्का व्यापारी अर्जुन दवाडी भन्छन्– सवारीको आवगमन रोक्दा कहीँ असुविधा त हुन्छ नै, तर यस्को प्रभाव भने राम्रो छ । सकेसम्म ठमेललाई सवारी निषेधित क्षेत्रकै रुपमा घोषणा गर्न सकेमा पर्यटकीय आकर्षणमा मद्दत पुग्ने दवाडीको तर्क छ ।
क्षेत्रपाटी चोकमा विगत १५ बर्षदेखि प्रतिष्ठा फार्मेसी सञ्चालन गर्दै आएका शुशिल प्रधान भन्छन्– सवारीको सन्दर्भमा गरिएको प्रयास ठीक हो । तर, यस्को कार्यान्वयन अझै व्यवस्थित बनाउन जरुरी छ । ठमेलका सातघुम्ती चोक, जेपि स्कूल मार्ग, केजिएच चोक लगायतका स्थानमा भने पूर्ण रुपमा सवारी साधनको निषेध गरिएको छ ।
बाधक बन्दैन ठमेल टुरिजम डेभलपमेण्ट काउन्सिल
ठमेल टुरिजम काउन्सिलका अध्यक्ष समिर गुरुङ्का अनुसार– पर्यटकीय क्षेत्र भएकाले गाडीको व्यवस्थापन गर्नु राम्रो कुरा हो, तर चालकको मर्मलाई सम्बोधन नगर्नाले उनीहरु मारमा परेका छन् । पछिल्लो समय सोही कुरालाई लिएर आलोचना समेत धेरै हुने गरेको पाईन्छ ।
सामाजिक संघ संस्थाको सल्लाह अनुरुप जाँदा सबैको हित हुन्थ्यो । तर, ट्याक्सी रोक्ने काम थर्ड आई नामक होटलले गर्दै आएको छ । आगामी दिनमा निजी, सामुदायिक तथा सरकारी विभाग एक ठाउँमा रहेर निष्कर्ष निकाल्न जरुरी छ । अहिले यो परीक्षण कै अवस्थामा भएपनि जनसमुदायको हितमा काउन्सिलले बाधा नपुर्याउने गुरुङको तर्क रहेको छ ।