काठमाडौ । भैंसीले मानिसलाई दूध दिन्छ, त्यो दूधको सेवनबाट मानिस स्वस्थ हुन मद्दत गर्छ । भैसीलाई दूध मात्र होइन मासुका रुपमा पनि उपभोग गरिन्छ । मःम भन्ने बित्तिकै भैंसीको मासुबाट बनाइएको परिकार बुझिन्छ । तर भैंसीको मासु उपभोगमा ल्याएपछि पाल्ने गरिएको छाला र हड्डीबाट विभिन्न आकर्षक सामाग्री बनाएर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको छ ।
अरु पशुपन्छीका हाड, छालालाई पनि उपयोगमा ल्याउन सकिन्छ, तर आज भैंसीको छाला र हड्डीको उपयोग सम्बन्धी चर्चा गरेका छौँ ।
भंैसीको मासु खाद्य उपयोगको लागि प्रयोग हुन्छ, त्यसबाट निस्कने हड्डीलेपनि बलिया सामाग्री निमार्णमा सहयोग पुर्याउँछ । छाला खेर जाने वस्तु भएपनि यस्को प्रयोग गरेर महङ्गा आवश्यकीय सामाग्री बनाउन सकिने ठमेल अर्थपिस ह्याण्डी क्राफ्टका सञ्चालक सुवास आचार्यले बताए । नेपालमा संकलन र प्रशोधन गरिने छाला अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्षम रहेपनि प्रविधिका कारण केही पछि परेको आचार्यले बताए ।
ठमेलमा रहेको चेन्नाइल ह्याण्डी क्राफ्टका प्रोप्राइटर शिवप्रसाद दाहाल भन्छन्–‘भैसीका छालाबाट बन्ने सामाग्री सस्तो, महङ्गो दुवैथरीका मूल्यमा पाईन्छ । हाम्रै देशमा निर्माण हुने सामाग्री भएकाले यस्ता चिजको उपयोग गर्न सकेमा स्वरोजगार बन्न सकिने उनले बताए । यो व्यवसाय गरेको करिब ९ बर्ष भएको उनले बताए ।
के के बन्छ भैंसीको छालाबाट ?

भैंसीको छाला प्रयोग गरेर विभिन्न हस्तकलाका सामाग्रीहरु बनाउन सकिन्छ । नेपालमा नै पर्स, व्याग, टोपी, पेटी, जुत्ता, ल्यापटप बोक्ने झोला लगायतका सामाग्री भैंसीको छाला प्रयोग गरेर बनाइदै आएको छ । पर्सको सामान्यतया ४ सय रुपैयाँ पर्ने भएपनि ल्यापटप ब्यागको १० हजार रुपैयाँ भन्दा माथि समेत पर्ने गरेको छ । छालाबाट बनेको टोपीको मूल्य १३ सय र पेटीको साढे ५ सय रुपैयाँ पर्ने गरेको व्यवसायी बताउँछन् ।
कसरी तयार हुन्छ त छाला ?
भैसीको छाला सामान्यतया काठमाडौँ बाहिरबाट ल्याउने उपत्यकामा भित्रने गर्छ । छालालाई ताछ्न तथा सुकाउन गर्न केही झण्झट हुने र नराम्रो गन्ध आउने भएकाले बस्ती कम भएको ठाउँमा छाला तयार गरिन्छ । यसरी तयार भएको छाला धादिङ, नुवाकोट, सिन्धुपाल्चोकबाट उपत्यका भित्रिने गर्छ ।
कच्चा छालालाई उपयोग योग्य बनाउन सबैभन्दा पहिला चुना पानीमा डुबाएर १५ दिनसम्म राख्नुपर्छ । यसरी १५ दिनसम्म राखीसकेपछि भित्र बाहिरको छाला ताछ्नु पर्छ । यसरी छाला ताछि सकेपछि धगेरो नामक घाँसमा मिसाएर त्यसलाई सुख्खा बनाउनु पर्छ । यति कार्य गरेपछि छाला साह्रै कडा बन्छ । सोही कडा भएको छालालाई नरम बनाउन तोरीको तेलले माड्नु पर्छ । त्यसपछि मात्र छाला कच्चा अवस्थाबाट सामाग्री बनाउन योग्य बन्छ । यो प्रक्रिया पूरा हुनलाई करीब ४५ दिनसम्मको समय लाग्ने गर्छ ।
२ बर्ष अघिसम्म छाला ताछ्ने काम मान्छेले नै गर्दै आएका थिए । अहिले छाला ताछ्न मेसिनको प्रयोग गर्ने थालेकाले एकैदिनामा सयौँ भैसीको छाला ताछ्न सकिन्छ । विगतका दिनमा मेसिनबिना छाला ताछ्दा एक जनाले दिनमा दुईबटा छाला मात्र ताछ्न भ्याउथे । एउटा भैंसीको तयारी छाला ७ सय रुपैयाँका दरमा काठमाडौं भित्रिन्छन् ।
हड्डीबाट बन्छन् यी सामाग्री
भैंसीको हड्डीबाटपनि माला लगायतका सामाग्री बन्ने गरेका छन् । हड्डीबाट ब्रासलेट, माला, नेकलेस, किरिङ् बनाउँदा बलियो हुने गर्छ । एउटा किरिङ्को मुल्य २० रुपैयाँदेखी ५ सयसम्म पर्ने गर्छ । यस्तै, मालाको भने ३ सयदेखी ६ सय रुपैयाँसम्म पर्ने गरेको छ । हातमा लगाउने ब्रासलेट भने ८० रुपैयाँदेखी ५ सयसम्म पर्ने गरेको पाईन्छ ।
ठमेलमा खुकुरी पसल सञ्चालन गर्दै आएका भोज थापा भन्छन्–‘नेपाल पशुपालन गर्ने देश हो, यस्तो देशमा रहेको हामीले आफ्नै पशुबाट निर्माण हुने सामाग्रीमा जोड दिन सकेमा व्यापारिक विकास चाँडै हुने निश्चित छ । थापाले खेर जाने सामाग्रीलाई प्रयोग गरेर सजावटका सामाग्री बनाउने भएकाले यस्को आफ्नै किसिमको महत्व हुने बताए ।
हड्डीको बिड भएको एउटा खुकुरीको मूल्य नेपाली बजारमा ३ हजार रुपैयाँ पर्छ । सोही खुकुरीमा काठको बिड लगाउँदा त्यसको मूल्य २२ सय रुपैयाँ मात्र पर्छ । साथै, हड्डीबाट निर्माण भएको खुकुरीको बिड काठबाट निर्मित बिड भन्दा निकै बलियो हुन्छ । भैसीको छालाबाट बनाएको खुकुरीको दापको मूल्य ५ हजार रुपैयाँ परेपनि अन्य दाप ३ सय रुपैयाँ नै पाईन्छ ।
भैंसीको सिङपनि आउँछ प्रयोगमा
भैंसीको सिङ समेत प्रयोगमा आउने गरेको छ । एउटा सिङको मूल्य नै १५ सय पर्ने गरेको छ । भैंसीको सिङको बिड राखेको खुकुरीको मूल्य ५ हजारसम्म पर्ने गरेको व्यवसायीले ठमेलका व्यवसायी भोज थापाले बताए ।