काठमाडौं । अब संघीय संसद पनि पेपरलेस हुने भएको छ । यस अघि मन्त्रिपरिषद बैठकलाई पेपरलेस बनाई सकिएको छ ।
संसदको ३ बर्षे रणनीतिक कार्ययोजना अनुसार केहि समयभित्रै संसद बैठकलाई पेपरलेस बनाउन लागिएको संघिय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । ‘३ वर्षे रणनीतिक कार्ययोजना अनुसार संसदलाई पेपरलेस बनाउने काम सुरु भएको छ’, प्रवक्ता पाण्डेले भने ।
उनका अनुसार पहिलो चरणमा सभामुखको रिडिङ पेपरलाई विस्थापन गरिनेछ । पेपरको सट्टा डिजिटल स्क्रिन जडान गरिनेछ ।
त्यसपछि संसद भवनका अन्य गतिविधीहरुलाई पनि डिजिटल बनाउँदै लगिनेछ । हाल सञ्चालनमा रहेको संसदको वेभसाइटलाई परिमार्जन गर्दै अंग्रेजी भाषामा समेत विस्तार गरिनेछ । त्यस लगत्तै संसदको आफ्नै एप्स निर्माण गरेर सञ्चालनमा ल्याउने कार्यक्रम बनेको पनि उनले जानकारी दिए ।
अर्काे चरणमा संसदिय समितिहरुका छुट्टै वेभसाइट निर्माण गरिनेछ । संसद सचिवालयका लागि छुट्टै नेटवर्कको निर्माण गरि सूचना आदान प्रदानको आफ्नै प्रणाली स्थापना हुनेछ । गृह मन्त्रालयको सूचना केन्द्रसँग समन्वय गरेर संसद र समिति बैठकका रेकर्डहरुलाई केन्द्रिय प्रणालीमा जोडिनेछ ।
प्रवक्ता पाण्डेका अनुसार संघीय संसदलाई तत्कालिन र दिर्घकालिन योजना अनुसार अत्याधुनिक बनाउने प्रक्रिया अघि बढाईएको हो । त्यसका लागि आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन प्रक्रिया पनि अघि बढिसकेको छ । त्यसका साथै सांसदहरुलाई पनि प्रविधि मैत्री बनाइनेछ । त्यस लगत्तै संसदको पुस्तकालयलाई ई–लाईब्रेरीका रुपमा विकास गरिनेछ ।