
काठमाडौँ । औषधि उत्पादक कम्पनी देउराली-जनता फर्मास्यूटिकल्स प्रालि कार्यकारी निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सरकारलाई सुझाव दिएका छन् ।
उनले भने-करीब २०० मोलिक्यूलका औषधिहरु तथा हालै सरकारले मूल्य नियन्त्रण गरेका औषधिहरु विदेशबाट आयतामा रोक लगाउनु पर्छ, यसो गरियो भने यस क्षेत्रमा लगानीको वाताबरण बन्ने संभावना रहन्छ । काठमाडौँको टोखा नगरपालिका–४ मा रहेको देउराली–जनता फर्मास्यूटिकल्स प्रालिको २८ औं वार्षिकोत्सव कार्यक्रममा बुधबार उनले यस्तो कुरा बताएका हुन् ।
कम्पनीका कार्यकारी निर्देशन शर्माको अध्यक्षता तथा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, स्थानीय समाजसेवी चन्द्रविनोद चालिसे लगायतको आतिथ्यता रहेको छ । कार्यक्रममा कर्मचारीहरुलाई दीर्घ सेवा पदक प्रदान गरिदैछ ।
कम्पनीको पृष्ठभूमि:
देउराली–जनता फर्मास्यूटिकल्स प्रालि २०४५ सालमा असार ९ गते स्थापना भएको हो । २०४७ साल माघ १६ गतेबाट उत्पादन शुरु गरेको कार्यकारी निर्देशक शर्माले जानकारी दिए । सो कम्पनीको स्थिर लगानी ७० करोड १४ लाख ३८ हजार ९ सय ८५ रहेको छ भने चालु पूँजी ९३ करोड ९५ लाख १६ हजार ६ सय रुपैयाँ रहेको छ ।
कम्पनीको उत्पादन क्षमता प्रति सिफ्टमा झोल औषधी १५ लाख लिटर, ट्वावलेट १२ करोड वटा, क्याप्सुल ८ करोड ५० लाख वटा, ड्राइ पाउडर/ओआरएस ३ लाख केजी र मल्हम १ करोड ट्यूव रहेको छ । हाल कम्पनी ६० प्रतिशत क्षमतामा मात्र सञ्चालन हुँदै आएको कार्यकारी निर्देशक शर्माले बताए ।
कम्पनीले नेदरल्याण्डको गुणस्तर निर्धारण गर्ने संस्था डीएनभीबाट २०६० साल मंसिर २१ गते आइएसओ १४००१ र आइएसओ ९००१को प्रमाण पत्र प्राप्त गरेको छ । नेपाली उद्योगहरु पनि विश्वको बद्लिंदो आर्थिक परिवेशमा उच्च गगुणस्तर कायम गर्दै वाताबरण संरक्षणमा आफ्नो भूमिका निर्वाह गर्न समर्थ छन् भन्ने कुरा प्रमाणित भएको कार्यकारी निर्देशक शर्माले बताए ।
