एक वर्ष मै देशभर फोरजी सेवा, अर्थ समितिले भन्यो-‘हामी रोक्दैनौं’

<p>काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवा पुन: विस्तार गर्ने भएको छ । देशभर फोरजी सेवा विस्तार गर्न ठेक्का प्रक्रियालाई अघि बढाएको हो । फोरजी विस्तार विषयमा संसदको अर्थ समितिले चासो देखाएको छ । सेवा विस्तारमा भैरहेको प्रगति, समस्या, चुनौतिको विषयमा विज्ञ सहितको टोलीसँग समितिले छलफल गरेको हो । छलफलमा विज्ञहरुले फोरजी सेवाको विस्तार द्रुत [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवा पुन: विस्तार गर्ने भएको छ । देशभर फोरजी सेवा विस्तार गर्न ठेक्का प्रक्रियालाई अघि बढाएको हो ।

फोरजी विस्तार विषयमा संसदको अर्थ समितिले चासो देखाएको छ । सेवा विस्तारमा भैरहेको प्रगति, समस्या, चुनौतिको विषयमा विज्ञ सहितको टोलीसँग समितिले छलफल गरेको हो । छलफलमा विज्ञहरुले फोरजी सेवाको विस्तार द्रुत गतिमा हुनुपर्नेमा जोड दिए ।

सरकारको लगानी भएको टेलिकम मात्रै नाफामा रहेको भन्दै यसको विस्तारमा कसैले रोक्न नहुने बताए । म्यागसेस पुरस्कार विजेता महाविर पुनले नियम र कानूनको नाममा फोरजीलाई रोक्न नहुनेमा जोड दिए । फोर जी विस्तारको जिम्मा लिन लागेको कम्पनी पहिले नै असफल कम्पनी भएकोले त्यसमा चनाखो हुनु पर्नेमा विज्ञको सुझाव रहेको छ ।

टेलिकमले फोरजी विस्तारलाई एकै वर्षभित्र सक्ने गरी काम अघि बढाएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । हामीले निकालेको टेण्डर ३३ महिनाको हो, तर मन्त्रालयले १२ महिनामा काम गर्ने गरी कम्पनीसँग सम्झौता गर्न निर्देशन दिएकोले समय छोट्याइएको हो, निर्देशक अधिकारीले भने-कम्पनीले पनि १२ महिनामै काम सक्ने प्रतिबद्धता जनाएको छ । काम सुरु भएपछि कुनैपनि बाधा नआए तोकिएकै समयमा काम सकिने अधिकारीको भनाई छ ।

फोर जीबाट फाइभ जीमा अपग्रेड हुन्छ ?

अहिले विश्वका ५ देशहरुले फाइभ जीको अभ्यास गरिरहेको छ । यसको लागि सिमित स्थानमा परिक्षण भैरहेको छ । नेपालमा अझै ७ वर्षसम्म फोरजी नै चल्ने टेलिकमको भनाइ छ । थ्री जीबाटै फोरजी अपग्रेड गर्न सकिने भएपनि टेलिकम नियमावलीले धेरै रकम खर्च गर्न नदिने भएकोले टेण्डर आवश्यक रहेको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

उनका अनुसार हाल फाइभ जीको मोडालिटी तयार भएको छैन । त्यसैले फोरजीबाट फाइभजी अपग्रेड गर्न सकिने नसकिने भन्न सकिदैंन । फाइभजी सफ्टवयरको माध्यमबाट चल्ने भएकोले यसमा टावरको माध्यमबाट अपग्रेड नहुन सक्छ ।

फोरजी सेवा विस्तारको जिम्मा मन्त्रिपरिषदको निर्णयबाट चिनियाँ कम्पनी हुवावेलाई दिएको छ । ठेक्का प्रक्रियामा कुनै पनि गडबड नभएको सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए । ३३ महिनको काम १२ महिनामा सक्दा यसले प्रविधि क्षेत्रमा ठूलो फड्को मार्ने मन्त्री बास्कोटाको भनाई छ ।

टेलिकम मार्केटिङमा निकै कमजोर

टेलिकमले ग्राहक सेवालाई प्रभावकारी बनाउन नसकेको विज्ञहरुले आरोप लगाएका छन् । टेलिकमका कर्मचारी हुकुमी शैलीमा चलेको भन्दै सच्चिनु पर्ने पुर्व सचिव शुसिल घिमिरेले बताए । उनले कर्मचारीतन्त्रमा गुलामवाद सकिएकोले अब ग्राहक सेवामा केन्द्रित हुन सुझाव दिए ।

सरकारी लगानीमा सञ्चालित कम्पनीहरु प्रतिस्पर्धी भावले काम गर्न नसक्दा व्यापारिक सफलता हासिल गर्न नसकेको पुर्व महाप्रबन्धक सुरेशकुमार पुडासैनीले बताए । सरकारी सहुलियत लिएरपनि प्रगति गर्न नसक्नु टेलिकमको ठूलो गल्ति भएको बताए ।

फोरजी विस्तार अर्थ समितीको कारण रोकिदैंन

टेलिकमको फोरजी सेवालाई अर्थ समितीले नरोक्ने सभापति कृष्णप्रसाद दाहालले बताए । ‘हामी विकासका बाधक होइनौं, तर सेवा विस्तारको नाममा टेलिकमले गुणस्तरमा सम्झौता गर्न मिल्दैन, सभापति दाहालले भने-अख्तियारले ७ महिना रोक्यो, मन्त्रालयमा २ महिना रोकियो, तर हामी रोक्दैनौं ।’ समितीका सदस्य घनश्याम भुषालले पुरानो प्रविधिलाई छोडेर नयाँ प्रविधि अनुसार सेवा विस्तार गर्नु पर्नेमा जोड दिए ।

Share News