
काठमाडौं । वन्यजन्तु आरक्षण केन्द्र भनेका जनावरको निम्ति सुरक्षित घर जस्तै हुन् । तर, नेपालमा ढोरपाटन शिकार केन्द्रमा मै शुल्क तिरेर आफूले चाहेको जनावर ताकीताकी शिकार गर्न पाईन्छ ।
आर्थिक बर्ष ०७४/०७५ मा शिकार गरे बापत ढोरपाटन शिकार आरक्षले ५९ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन गरेको छ । पहिलो सिजनामा २६ लाख ५ सय रुपैयाँ र दोस्रो सिजनमा ३३ लाख ७५ हजार २ सय रुपैयाँ गरी संकलन भएको हो । यसरी आफूले मार्न चाहेको जनावर नमरी अन्य मरेमा शिकारीलाई कानूनी कारबाही हुन्छ ।
नेपालमा एकमात्र ढोरपाटन शिकार आरक्ष छ जहाँ नेपाली, विदेशीले आफूले चाहेको जनावरको शिकार गर्न पाउँछन् । यसरी शिकार गर्न पाईने जनावर सीमित छन् । तोकिएको कोटामा इच्छुकले आवेदन गर्न पाउने छन् । आवेदनपनि टेन्डर मार्फत खुल्ला गरिन्छ ।
गौरीगाई, कस्तुरी मृग, ध्वासे चितुवा, हिउँ चितुवा, बाघ, हात्ती लगाएतका जनावर मार्न पाईदैन । यदी यस्ता जनावर मारेमा ५ देखी १५ बर्षसम्म कैद सजायको व्यवस्था रहेको छ । साथै, १० देखी १५ लाखसम्मको आर्थिक जरिवाना समेत लाग्ने कानूनी प्रावधान छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक व्यवस्थापन अधिकृत सन्तोषकुमार भगत भन्छन्- ‘शिकार कस्ले किन सुरुवात गर्यो भन्ने तथ्यगत विवरण त हामी कहाँ छैन, तथापी २०३० मा शिकार नियमावली आएपश्चात ढोरपाटन शिकारको सुरुवात भएको मान्न सकिन्छ ।’
शिकार गर्न पाईने जनावरहरुमा झारल, घोरल र नाउर पर्छन् । हाल सरकाले नाउर र झारलको लागि कोटा तोकेको छ । कोटा वार्षिक रुपमा एक पटक तोकिन्छ । यसरी कोटामा पर्न सफल नेपाली विदेशीले जनावरको शिकार गर्न सक्छन् । जनावरको शिकार गर्दा केही सावधानी भने अवश्य अपनाउनु पर्ने छ ।
यस्तो अवस्थामा सिकार गर्न पाईदैन
साँझको बेलामा जनावरको शिकार गर्न पाईदैन । बास बसेको जनावरको शिकार गर्न पाईदैन । घाईते जनावरको शिकार गर्न पाईदैन । सुत्केरी जनावरको शिकार गर्न पाईदैन । बास बस्ने ठाउँमा रहेको जनावरको शिकार गर्न पाईदैन । पानी खाने ठाउँमा रहेको जनावरको शिकार गर्न पाईदैन ।
मौसमले पनि असर पार्छ
पहिलो सिजनमा असोजदेखी मंसिरसम्म शिकार गर्न पाईन्छ । दोस्रो सिजनमा फागुनदेखी वैशाखमासम्म शिकार गर्न पाईन्छ । गर्मी र जाडो याम गरी वर्षमा ६ महिना शिकार गर्न पाईदैन ।
पन्छीको शिकार गर्न पाइन्छ
चखेवा, लुईचे, पानी हाँस र वन कुखुराको शिकार गर्न पाइन्छ । पन्छीको हकमा भने लोप हुन लागेकाको शिकारमा मात्र बन्जेद छ । शिकारीले आफूले शिकार गरेको जनावर तथा पन्छीको मासु खान पाउँछन् ।
शिकार गर्न नपाईने पन्छीहरु
कालो गडुर, सेतो गडुर, सारस, चिर कालिज, डाँफे, मुनाल , ठूलो खर मजुर, सानो खर मजुर र राज धनेषको शिकार गर्न पाइदैन ।
शिकार गर्न चाहनेले एउटा नाउरको लागि१ लाख १ हजार रुपैयाँसम्म तिर्नु पर्छ । यस्तै नउर र झारल दुवै शिकार गर्न चाहने एक शिकारीले एकमुष्ट २ लाख ७५ हजारसम्म बुझाउनु पर्छ । ब्रिटिस शिकारीले ३ लाख २ हजारसम्म बुझाएर शिकार गर्ने गरेका छन् ।
को हुन् त पेशेवार शिकारी ?
पेशेवार शिकारीहरु भन्नाले शिकारको लागि लाईसेन्स प्राप्त व्यक्ती भनेर बुझ्न सकिन्छ । राष्ट्रिय निकुञ्जले शिकारको लागि ५ बर्षको लाईसेन्स खुल्ला गरेको हुन्छ । यसरी लाईसेन्स प्राप्त शिकारीले सरकारले तोेकेको कोेटामा शिकार गर्ने गर्छन् । अहिले नेपाल सरकारले ढोरपाटन शिकार केन्द्रमा शिकार गर्नको लागि गत शुक्रबारबाट १० वटा नाउर तथा ५ वटा झारलको कोटा निर्धारण गरेको छ ।
