काठमाडौं । सामाजिक सूरक्षा कोषमा सूचिकृत हुने व्यवसायीहरुलाई श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले प्रमाणपत्र वितरण गरेका छन् । कोषमा सूचिकरण भएका २७० उद्योगी/व्यवसायीलाई सरकारले प्रमाणपत्र वितरण गरको हो ।
कोषमा निजी क्षेत्रले उत्साहजनक रुपमा सहभागिता जनाएको मन्त्रालयले बताएको छ । ‘अहिले १३ हजार मासिक तलब खाने व्यक्तिले २० वर्षपछि २० हजार मासिक पेन्सन पाउँछन्- मन्त्री विष्टले भने-अझै तल्लो तहसम्म यसको प्रचार गर्न सकिएको छैन ।’
निजी क्षेत्रको प्रशंसा गर्दै मन्त्री विष्टले उद्यमशील हातहरुलाई आफुले शिर झुकाएर सम्मान गर्न चाहेको बताए । ‘हाम्रो देशमा श्रमिकको अभाव रहेको छ, मासिक ४० हजार दिन्छु भन्दा पनि इटा भट्टामा काम गर्ने श्रमिक पाइदैन, उद्योगीले मसँग आग्रह गरेका छन्, डेढ लाख भन्दा बढी व्यक्तिलाई रोजगारी दिन हामी तयार छौं ।
देश अहिले विकासको प्रारम्भिक चरणमा रहेको छ । यहाँ काम गर्ने दक्ष जनशक्ति अभाव रहेको छ । हाइड्रो, विमानस्थल लगायत क्षेत्रहरुको विकासको लागि कामदार अभाव रहेको गुनासो आइरहेका छन्, त्यसका लागि हामीले जनशक्ति तयार गर्नु आवश्यक छ ।
म रोजगार दाताहरुप्रति धेरै आभारी रहेको छु । तपाईहरुको समस्या के रहेको छ आउनुस् कुन कानून बाधक छन् बसेर छलफल गरौं समस्याको समाधान गरौं । अब नेपालीहरु हिनताबोध गरी विदेशमा काम गर्न जानु पर्दैन, आत्मासम्मानका साथ नेपालमै काम गर्ने वातावरणको निर्माण हामी गर्नेछौं-‘ मन्त्री विष्टले भने ।
सामाजिक सुरक्षाकोषमा निजी क्षेत्रले उत्साहका साथ सहभागिता जनाएका छन् । कोषमा हालसम्म ५४६ वटा कम्पनी सूचीकरण भएका छन् । सरकारले शुरु गरेको कोषमा सूचीकरण हुनेहरुमा बैंक, उद्योग, बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अस्पताल लगायतका रहेका छन् ।
कोषमा देशका ठूला उद्यमीहरु बिनोद चौधरी, चन्द्रप्रसाद ढकाल, हरिभक्त शर्मा लगायतको कम्पनी सूचीकरण भैसकेको छ । चौधरी ग्रुप अन्र्तगत रहेका सीजी इलेक्ट्रोनिक्स, सीजी फिन्को, सीजी शाश्वत धाम, नर्भिक हस्पिटल, नबिल बैंक लगायत सूचिकरण भएका छन् । यस्तै, आइएमई ग्रुप, देउराली जनता फर्मास्युटिकल्स, जगदम्बा स्टील्स, आइएमई अटोमोटिभ्स् प्रालि लगायत कम्पनीहरु कोषमा सूचीकरण भैसकेका छन् ।
यो पनि हेर्नुहोस्
सामाजिक सुरक्षाकोषमा ५४६ कम्पनी सूचीकृत (नामावलीसहित), ९० जनाको जागिर खुल्दै