पतञ्जलिले यूनिलिभरकाे बजार खाेस्दा लगानीकर्ताले एक कित्ता सेयरमा ७ हजार ५०० गुमाए, के हुन्छ अब ?

<p>काठमाडौं । सूचिकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा उच्च गिरावट आएको छ । युनिलिभर कम्पनीका लगानीकर्ताले एक वर्षको अवधिमा प्रतिकित्ता सात हजार पाँच सय रुपैयाँ अर्थात २५.३९ प्रतिशत गुमाइसकेका छन् । गत वर्षको माघमा प्रतिकित्ता २८ हजार रुपैयाँमा कारोबार भएको यूनिलिभरको सेयर गत साता प्रतिकित्ता २० हजार ५०० रुपैयाँमा झरेको छ । [&hellip;]</p>

काठमाडौं । सूचिकृत कम्पनीमध्ये सबैभन्दा महङ्गो युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्यमा उच्च गिरावट आएको छ । युनिलिभर कम्पनीका लगानीकर्ताले एक वर्षको अवधिमा प्रतिकित्ता सात हजार पाँच सय रुपैयाँ अर्थात २५.३९ प्रतिशत गुमाइसकेका छन् ।

गत वर्षको माघमा प्रतिकित्ता २८ हजार रुपैयाँमा कारोबार भएको यूनिलिभरको सेयर गत साता प्रतिकित्ता २० हजार ५०० रुपैयाँमा झरेको छ । जुन अहिलेसम्म गत एक वर्षयताको न्युनतम मूल्य हो ।

हाल कम्पनीको चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँ रहेको छ । अंकित मूल्य १०० रुपैयाँ रहेको कम्पनीको हाल ९ लाख २० हजार ७०० कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ ।

गत आवमा कम्पनीले ९९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ३ करोड रुपैयाँ बढी हो ।

किन घट्यो त सेयर मूल्य ?

समग्रमा सेयर बजारमा गिरावट देखिएकोले यस कम्पनीमा त्यसको प्रभाव पर्नु स्वभाविक हो । तर बजारमा आएको गिरावट भन्दा यस कम्पनीको सेयर मूल्यमा आएको गिरावट उच्च छ ।

कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांशदर घट्दै गएकाले यूनिलिभरको सेयर मूल्यमा उच्च गिरावट आएको देखिन्छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई प्रतिकित्ता ७०० रुपैयाँ लाभांश दिएको छ । यो विगत पाँच वर्ष यताको सबैभन्दा कम लाभांश हो । अघिल्ला वर्ष कम्पनीले प्रतिकित्ता १२७० रुपैयाँसम्म लाभांश दिएको थियो ।

एक वर्षअघि यस कम्पनीको सेयर किन्नेले लाभांश वापत ७०० रुपैयाँ कमाउँदा ७ हजार पाँच सय रुपैयाँ गुमाएका छन् । कम्पनीले गत कात्तिकमा साधारणसभा गरी लगानीकर्तालाई लाभांश वितरण गरिसकेको छ ।

बोनस सेयर र हकप्रद सेयरमा आकर्षित हुने लगानीकर्ताको लागि यो कम्पनीको सेयर आकर्षित छैन । कम्पनीले पुँजी वृद्धिको लागि बोनस सेयर वा हकप्रद सेयर जारी गर्ने सम्भावना नरहेको र कम्पनीको नगद लाभांश दरमा पनि गिरावट आएकोले यस सेयरप्रति लगानीकर्ताको चासो कम हुँदै गएको साधारण लगानीकर्ता बताउँछन् ।

यूनिलिभरको उत्पादनसँग प्रतिस्पर्धी भएर रामदेव बाबाको कम्पनी पतञ्जलीको उत्पादनले बजार लिएपछि यस कम्पनीको सेयर मूल्य घटेको लगानीकर्ताको बुझाई छ । बजारमा प्रतिस्पर्धा बढेपछि कम्पनीकाे नाफा र वितरित लाभांश घटेकाे र सेयर मूल्यमा उच्च गिरावट देखिएकाे जानकारहरू बनाउँछन् ।

Share News