काठमाडौं । बुद्ध एयरको २ नयाँ जहाज फागुनमा काठमाडौं आइपुग्ने भएको छ । भारतको कोलकत्तामा सिधा उडानका लागि एयरले नयाँ जहाज खरिद गर्न लागेको हो । आगामी बैशाख २ गते एयरले काठमाडौंदेखि कोलकत्ता सिधा उडान शुरु गर्नेछ । कम्पनीले बैशाख २ गतेदेखि परीक्षण उडान शुरु गर्न लागेको हो ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका अनुसार कोलकत्ता उडानको तयारी अन्तिम चरणमा पुगेको छ । ‘कोलकत्ता उडानका लागि सबै तयारी सकिसकेका छौं, यसका लागि सबै पक्षको सहयोग जरुरी छ, निर्देशक बस्नेतले भने-हामी शुद्ध हवाई व्यवसायी भएको कारण होटल, पर्यटन, सरकार सबैले सहयोग गर्नुपर्छ ।’
नयाँ आउने एटीआर ७२–५०० सिट क्षमता ७२ हुनेछ । एउटा जहाज फागुनको तेस्रो साता काठमाडौं आइपुग्ने एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले बताए । अर्को जहाज एक हप्तापछि आइपुग्नेछ । उनका अनुसार एटिआरले आन्तरिक उडान समेत गर्नेछ ।
भरतपुर र पोखरामा एटिआर उडाउने कम्पनीले तयारी गरेको छ । कम्पनीले कोलकत्ता भने हप्तामा ३ उडान भर्नेछ । ३ उडानमा १८० जना यात्रुको लक्ष्य राखेको छ । यसमध्ये १०० जना यात्रु ल्याउन सके कम्पनी सफल हुने निर्देशक बस्नेतको विश्वास छ ।
काठमाडौंदेखि कोलकत्तासम्म कम्पनीको एटीआर ७२–५०० जहाजलाई १४० मिनेट लाग्नेछ । खर्च कम गर्नका लागि कम्पनीले यस जहाजको प्रयोग गरेको दाबी गरेको छ । बैशाख २ गतेदेखि सोमबार, बुधबार र शुक्रबार काठमाण्डौँ–कोलकत्ता–काठमाडौँ उडान गर्ने बुद्ध होलिडेजका प्रमुख आस्था बस्नेतले बताइन् ।
भाडादर भने प्याकेजमै ल्याउने कम्पनीले जनाएको छ । यो उडान सफल भए २०७७ साल भदौबाट दक्षिण एसियाका विभिन्न महानगरहरुमा जेट बिमानहरुबाट उडान शुरु गर्ने कम्पनीले जनाएको छ । कोलकत्ता हाम्रो परीक्षण उडान हो, यस उडानलाई सफल बनाउन संख्यात्मक र गुणात्मक पर्यटक भित्र्याउन नेपाल सरकार सहित सबै सरोकारवालाहरु होटल, ट्राभल टुर्स, ट्रेकिङ एजेन्सीहरुसँग सहकार्य गर्ने प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ ।
अहिले भारतको करिब ३ करोड जनसंख्याले अन्तर्राष्ट्रिय भ्रमण गरिहेका छन् । यी मध्ये नेपालमा रहेको पशुपतिनाथमा भारतीय पर्यटकको रुचि भएका कारण उडान सफल हुने कम्पनीले विस्वास लिएको छ । कम्पनीले कोलकोत्ता उडान शुरु गरेपछि हप्तामा ८०० सय उडान पुग्नेछ । आन्तरिक उडानमा ५० प्रतिशत भन्दा बढी हिस्सा ओगटिरहेको कम्पनीले अझै दायरा फराकिलो बनाउने तयारी गरिरहेको छ ।