काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाई गर्दै पहिले ब्यवस्था भएकाे भन्दा ६० प्रतिशत कममात्र डलर साट्न पाउने ब्यवस्था गरेकाे छ ।
इ.प्रा. परिपत्र ७/२०७४ लार्इ संशाेधन गर्दै राष्ट्र बैंकले मंगलबार त्यस्ताे व्यवस्था गरेपछि नेपाल सरकारसँग सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेश जाने नागरिकले २०० डलरसम्म मात्रै साट्न पाउने भएका हुन् ।
बैंकले मंगलबार सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गर्दै त्यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो । यसअघि काम गर्न विदेश जानेले ५०० डलरसम्म सटही गर्ने सुविधा थियो ।
अत्यधिक व्यापार घाटाका कारण भुक्तानी प्रणालीमा असन्तुलन आएर बैदेशिक मुद्राको सञ्चय घट्दै गएपछि राष्ट्र बैंकले सटहीमा कडाई गरिदिएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले श्रम स्वीकृति लिएर विदेश जाने कामदारलाई डलर सटहीको खासै आवश्यकता नपर्ने र परे पनि १/२ सय डलर भए पनि पुग्ने अवस्थामा बाँकी डलर यतै बेच्ने गरेको पाइएपछि त्यस्तो ब्यवस्था गरेको बताए । ‘ढुकुटीमा पर्याप्त डलर हुँदा हामी उदार भएका थियौं तर अहिले डलर सिञ्चितिमा कमी आउन थालेसँगै कडाई गरेका हौं,’ कार्यकारी निर्देशक ढुङ्गानाले भने ।