
काठमाडौं । सामाजिक सुरक्षाकोषमा निजी क्षेत्रले उत्साहका साथ सहभागिता जनाएका छन् । कोषमा हालसम्म ५४६ वटा कम्पनी सूचीकरण भएका छन् । सरकारले शुरु गरेको कोषमा सूचीकरण हुनेहरुमा बैंक, उद्योग, बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अस्पताल लगायतका रहेका छन् । कोषमा देशका ठूला उद्यमीहरु बिनोद चौधरी, चन्द्रप्रसाद ढकाल, हरिभक्त शर्मा लगायतको कम्पनी सूचीकरण भैसकेको छ ।
चौधरी ग्रुप अन्र्तगत रहेका सीजी इलेक्ट्रोनिक्स, सीजी फिन्को, सीजी शाश्वत धाम, नर्भिक हस्पिटल, नबिल बैंक लगायत सूचिकरण भएका छन् । यस्तै, आइएमई ग्रुप, देउराली जनता फर्मास्युटिकल्स, जगदम्बा स्टील्स, आइएमई अटोमोटिभ्स् प्रालि लगायत कम्पनीहरु कोषमा सूचीकरण भैसकेका छन् ।
सूचिकृत कम्पनी हेर्न यहाँ क्लिक गर्नुहोस्
कम्पनी सूचीकरण गर्नको लागि कोषले तयारी तीब्र बनाएको छ । कोषले चालू आर्थिक वर्षको अन्त्यसम्ममा रोजगारदाताको संख्या, श्रमिकको संख्या लगायत काम सकिनेछ । रकम संकलनको काम भने आगामी आर्थिक वर्षबाट शुरु हुनेछ ।
कोषले प्राविधिक पक्षलाई पनि सुदृढिकरण गर्ने तयारी गरेको छ । एउटा कामदारले आफ्नो कोषमा रकम जम्मा भए नभएको मोबाइबाटै थाहा पाउनका लागि प्रविधिको विकास गर्ने कोषको तयारी रहेको छ ।
कोषका प्रवक्ता रिमा भट्टराईका अनुसार कोषले हाल प्रारम्भिक चरणको काम गरिरहेको छ । यो आर्थिक वर्षमा कोषले कम्पनी सूचीकरण र भेरिफाईको काम हुनेछ । आर्थिक वर्ष २०७६/०७७ मा भने पूर्ण क्षमतामा काम हुनेछ । कोषमा अनलाईन रोजगार दाताको संकलन भैरहको छ । रोजगार दाताको संकलन भैसेकेपछि कामदारको संख्या लिइनेछ । यो आर्थिक वर्षमा सबै प्राविधिक काम सकेर अर्को आर्थिक वर्षबाट रकम संकलन हुने प्रवक्ता भट्टराईले बताइन् ।
कोषमा हाल १९ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यो रकमलाई हाल बैंक ब्याजमा लगाइएको छ । रकम संकलनको लागि पनि कोषले बैंकहरुबिच प्रतिस्पर्धा गराई रकम दिने तयारी गरेको छ ।
९० जना कर्मचारीको दरबन्दी स्वीकृत
सुरक्षा कोषमा हाल कर्मचारी अभाव रहेको छ । द्रुत गतिमा काम गर्नका लागि कोषको लागि ९० जना जति कर्मचारी आवश्यक रहेको छ । यसका लागि लोक सेवा आयोगले स्वीकृति दिइसकेको छ । अन्तिम स्वीकृतिका लागि कोषले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेस गरेको छ । मन्त्रालयबाट स्वीकृति पाएपछि लोक सेवाले नै विज्ञापन खुलाउनेछ । ९० जना मध्ये विभिन्न तहका कर्मचारी हुनेछन् । विज्ञापन यसै आर्थिक वर्षमा हुने प्रवक्ता भट्टराइले बताइन् ।
के हो सामाजिक सूरक्षा कोष ?
सरकारले श्रम गर्ने सबै कामदारहरुलाई योगदानमा आधारित पेन्सन वा उपादान प्रदान गर्न कोषको सुरु गरेको हो । श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकममा रोजगारदाताको २० प्रतिशत थप गरी कोषमा जम्मा गर्नु पर्नेछ ।
यसमा मजदुरले ४ किसिमको सुविधा प्राप्त गर्न सक्नेछन् । यसमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशत्तलताको सुविधा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षाको सुविधा हुनेछ ।
यो पनि हेर्नुहोस्