काठमाडौं । के तपाई बाटोमा हिड्दा चाउचाउ, बिस्कुट, पान पराग, चकलेट, गुड्खा खानु हुन्छ ? त्यसरी खाएपछि खोल चाँही बाटैमा फाल्नु हुन्छ ? अब सावधान हुनुहोस । अन्यथा ५० हजार जरिवानामा पर्नु हुनेछ । काठमाडौं महानगरपालिकाले केहिदिन भित्रै सडकमा जङक फुडका खोल फाल्नेलाई ५० हजारसम्म जरिवाना गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउँदैछ ।
महानगरपालिकाको वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार पहिलो चरणमा दरबारमार्ग, रत्नपार्क, शहिदगेट, पुतली सडक र बागबजार लगायतका क्षेत्रमा त्यस्तो व्यवस्था लागु गरिनेछ । पाइलट प्रोजेक्टको सफलतापछि मानिसहरुको धेरै आवतजावत हुने अन्य क्षेत्रमा पनि विस्तार गर्दै लगिने योजना रहेको श्रेष्ठले जानकारी दिए । त्यसका लागि महानगरपालिकाले सडक किनारमा यथेष्ठ मात्रामा फोहर राख्ने डष्टबीनको व्यवस्था गर्नेछ ।
पसल सञ्चालकहरुलाई पनि आफ्नो पसल अगाडी राखिने डष्टबीनहरुको उचित उपयोगका लागि अनुरोध गरिनेछ । ‘व्यापक मात्रामा जनचेतना फैँलाउँछौं, पसलेहरुलाई पनि जानकारी गराउँछौं, आवश्यक मात्रामा डष्टबीनहरुको व्यवस्था गर्छाै, नटेर्नेलाई कानुन अनुसार कारवाही गर्छाै’, महानगरपालिकाको वातावरण विभागका प्रमुख श्रेष्ठले विकासन्युजसँग भने ।
घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने वटुवाहरुबाट विष्कुटको खोल, पानपराग, गुड्खा, चुरोटको बट्टा आदि सडकमा फालेको पाइएकोले फेला परेपछि महानगरपालिकाले कडाई गरेको हो । नियम उल्लंघन गरेको फेला परेमा महानगरपालिकाको टोलीले ५० हजार रुपैंयासम्म जरिवाना गर्नेछ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ दफा ३८ को खण्ड क, ख, ग, घ र ङ बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।