काठमाडौं । दोस्रो त्रैमासको वित्तीय विवरणसँगै बैंकहरूले आधार ब्याजदर र बचत तथा ऋणमा नयाँ ब्याजदर तालिका सार्वजनिक गर्न थालेका छन् । निक्षेपमा १ महिना अघि नै ब्याजदर घटाए पनि कर्जाको ब्याजदर घटाउन आधार ब्याजदरको गणना आवश्यक भएपछि बैंकहरुले त्यस्तो व्याजदर घटाएका थिएनन् ।
तर पुस मसान्तसम्मको बैंकहरुको कारोबार एवं गतिविधिका आधारमा आर ब्याजदर तय भएसँगै ऋणको ब्याजदर घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गर्न चालेका हुन् । वाणिज्य बैंकहरुले ३/३ महिनामा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने प्रावधान छ । कर्जाको ब्याजदर गणनामा आधार ब्याजदर र लोनको प्रकृति अनुसारको प्रिमियम दरलाई लिने गरिन्छ । बैंकहरुले आधार ब्याजदर मासिक रुपमा प्रकाशन गर्नुपर्ने भए पनि त्रैमाससको अन्तिमको ब्याजदरले ऋणको दरलाई प्रभावित गर्ने भएकोले यसलाई बढी महत्वपूर्ण मानिन्छ ।
सोमबार कुमारी बैंक, सनराइज बैंक, सानिमा बैंक, सिभिल बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक लगायतले दोस्रो त्रैमासको अन्त्यको वित्तीय अवस्थाका आधारमा आधार ब्याजदर निर्धारण गरी ऋणमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । त्यस्तै आइतबारमात्रै एभरेष्ट बैंक र एसबीआई बैंकले पनि आधार ब्याजदर सहित नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् ।

अघिल्लो त्रैमास र यस त्रैमासको आधारमा आधार ब्याजदर सबैभन्दा बढी घटाउनेमा सानिमा बैंक अघि देखिएको छ । अघिल्लो त्रैमासको अन्त्यमा १०.५५ प्रतिशत रहेको बैंकको बेसरेट यस दोस्रो त्रैमासको अन्त्यमा ९.७५ प्रतिशत कायम भएको छ । त्स्तै सेञ्चुरी बैंकले ०.७२ प्रतिशत, सिटिजन्स बैंकले ०.६८ प्रतिशत, नेपाल एबीआईको ०.६१ प्रतिशत, एभरेष्ट बैंकको ०.५९ प्रतिशत आधारदर घटेको छ । मेगा, सिभिल कुमारी बैंकको भने सो दर बढेको छ जसले गर्दा ती बैंकका ऋणीहरुको ब्याजदर अझै महँगो बनेको छ । यद्यपि अधिकतम स्प्रेडदरलाई कायम गर्दै कर्जाको ब्याजदरमा लिने प्रिमियम दरलाई समेत समायोजन गर्न वाणिज्य बैंकहरुलाई छुट छ ।