काठमाडौँ । सिण्डिकेट अन्त्यपछि ६१६ वटा यातायात कम्पनी दर्ता भएका छन् । २०७४ चैत १८ गते सरकारले सिण्डिकेटको अन्त्य गर्दै यातायात समिति भङ्ग भएको घोषणा गरेको थियो । सिण्डिकेट अन्त्यपछि यातायात कम्पनी दर्ताको संख्यामा बृद्धि भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्याङ्क अनुसार सबै भन्दा धेरै यातायात कम्पनी काठमाडौँ जिल्लामा दर्ता भएका छन् । काठमाडौँमा १०५ वटा नयाँ कम्पनी दर्ता भएका हुन् ।
काठमाडौंपछि ललितपुर महानगरपालिकामा धेरै यातायात कम्पनी दर्ता भएको छ । यहाँ १८ वटा नयाँ कम्पनी दर्ता भएको छ । रजिष्ट्रार भुवनहरि अर्यालले भने- ‘सिण्डिकेट पछि यातायात कम्पनी दर्तामा बृद्धि भएको छ ।’
यता, नेपालमा कच्ची र पक्की गरेर कूल ७५ हजार किलोमिटर सडक सञ्जाल सञ्चालनमा छ । यहि सडक सञ्जालमा गुडाउने गरी ३२ लाख २१ हजार ४२ वटा सवारी साधनले अनुमति पाएका छन् । सबै सवारी साधन सञ्चालनमा छन् भनेर मान्ने हो भने एक किलोमिटर सडकमा ४२ वटा सवारी साधान गुडिरहेका हुनेछन् ।
तर, सरकारले केहि समय अघि मात्रै २० बर्ष पुराना सवारी साधनलाई बिस्थापित गर्ने निर्णय गरेको थियो । यकिन तथ्यांक नभएपनि केहि लाख सवारी साधन भने पुराना भएर थन्किसकेको हुन सक्ने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले बताए ।