
काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको लेखा समितिको बैठकमा वाइड बडी प्रकरणमा उपसमितिले दिएको प्रतिवेदनमा माथि जुहारी चलेको छ । उपसमिति माथि समितिका सांसद खनिएका छन् । शुक्रबारको बैठकमा सांसद विशाल भट्टराईले प्रतिवेदनले केही अन्याय गरेको बताए । एउटा मात्र वैठकमा बसेको सचिव प्रेम राईलाई एउटै समूहमा राख्नु कत्तिको न्यायिक हो ? उनले प्रश्न गरे ।
त्यसैगरी, अर्का सांसद पूर्णकुमारी कर्णले राष्ट्रिय ढुकुटीबाट जुन जहाज किनिएको थियो । त्यो राम्रो हो । तर, खरिद प्रकरणमा अनियमितता देखियो । उपसमितिको प्रतिवेदनमा केही कुरा थप गर्न पाएको भए राम्रो हुने बताइन ।
सांसद सूर्य पाठकले भने– जहाज खरिद प्रकरणमा गडबड भएको हाम्रो निष्कर्ष छ । उपसमितिको प्रतिवेदनमा हामी सदस्यभन्दा पहिलै मिडियामा जानकारी भयो । यो कसरी भयो ? यसले प्राकृतिक न्याय, निष्पक्षता र तथ्य छ कि छैन ? अनि प्रेम राई र सुगतरत्नलाई एउटै घानमा हाल्ने ? यो हुन सक्दैन भने ।
सांसद यज्ञबहादुर बोहराले उपसमितिको प्रतिवेदन अघिल्लो दिन सार्वजनिक हुनु गैर जिम्मेवारी भएको बताए ।
सांसद पार्वती बिसंखीले खरिद प्रक्रियाको प्रपञ्च गर्नेलाई कम र अन्तिम किस्ता दिएर जहाज बुझ्नेलाई बढी दोषी किन देखाईयो ? भनी प्रश्न गरिन् ।
सांसद लेखराज भट्टले प्रतिवेदनमा केही कमजोरी रहेको बताए । तिनलाई थप अध्ययन कसरी गर्ने भन्नेतिर जानुपर्छ । उपसमितिले प्रतिवेदन बनाएपछि पिएमले समिति बनाएको हो कि जस्तो लाग्न सक्छ । तर, अवस्था यस्तो होइन–सांसद भट्टले भने ।
सांसद तेजुलाल चौधरीले प्रतिवेदन तयार पार्ने सदस्यहरुलाई धन्यवाद दिनैपर्छ भने । प्रतिवेदनमा केही कमजोरी होलान् । तर यो प्रकरणमा व्यापक भ्रष्टाचार भएको छ । जो जति उफ्रे पनि यो त भएकै छ । महालेखाको प्रतिवेदनले प्रक्रिया गल्ति छ भन्दाभन्दै पैसा दिनुको अर्थ के हो ?
सांसद मिनेन्द्र रिजालले उपसमितिलाई हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठानेका होइनौं । मिडियामा खबर आयो भन्दैमा अनियमिता नभएको भन्न मिल्दैन होला । अनियमितता त कति भयो कति ? त्यसैले यहाँ राजनीतिक सम्बद्धताकै भरमा कसैको पक्षपोषण नगरौँ ।
सांसद अमनलाल मोदीले उपसमितिले दिएको प्रतिवेदनमा केही राम्रा पक्ष छन् । सँगै हामीले यहाँ कुनै विभेद देख्दैनांै । हामीले जुन समितिमा प्रतिवेदन पेश गर्छाै तर ती हुबहु पास हुनपर्छ भन्ने पनि हुँदैन । यसबाट हामी कोही तरंगित हुन हुँदैन । खरिद प्रक्रिया नै गलत भनेपछि त्यसमा जोडिएका सबै उत्तिकै जिम्मेवार हुन जान्छन् ।
उपसमिति सदस्य प्रदीप यादवले भ्रष्टाचारको महानायक सुगतरत्न कंसाकारले जता घुमायो, उतै घुम्नेपनि मन्त्री हुन्छ ? भने ।
समितिको बैठकमा उपसमितिले नबोलाएका आरोपितलाई समितिले बोलाएर छलफल गर्नु पर्ने कुरापनि उठेको थियो । बैठकमा सांसदहरुले प्रतिवेदन माथि प्रश्न उठाउने अवस्था आउनु नहुने र आधारभूत कुरा फेरबदल गर्नु नहुने कुरा उठेको थियो ।
बैठकमा सहमति जुट्न नसकेपछि समिति सभापति भरत शाहले अनौपचारिक परामर्श गर्ने गरी सोमबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।