काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले भुक्तानी सुनिश्चित कोष (सेटल्मेन्ट ग्यारेन्टी फण्ड) गठन गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार सीडीएससीलाई त्यस्तो कोष स्थापना गर्न निर्देशन दिँदैगर्दा सीडीएससी भने त्यो कार्यमा एक कदम माथि पुर्याएकाे हाे । त्यसका लागि त्यस्तो कोष गठन गर्ने र त्यसलाई सञ्चालन गर्ने संयन्त्रबारे निर्णय भइसकेको बताइएको छ ।
‘कोष दर्ता प्रक्रियाका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको छ, हाम्रो तर्फबाट संयन्त्र तयार पनि भइसकेको छ, दर्ता प्रक्रिया टुङ्गिएलगत्तै यो सञ्चालनमा आउँछ ।’ सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्यूजसँग भने ।
धितोपत्र सूचीकरण तथा कारोबार विनियावलीमा भएको व्यवस्थाअनुसार कोषको सञ्चालन दर्ता र सञ्चालन प्रक्रिया अघि बढ्ने प्रमुख कार्यकारी अधिकृत गुप्ताको भनाई थियो । दर्ता प्रक्रिया टुङ्गिएपछि कोषको नाममा बैंक खाता खुल्ने र त्यसलगत्तै कोषले आफ्नो काम गर्न थाल्ने जानकारी समेत गुप्ताले दिए ।
गत साउन १ गतेदेखि लागु भएको धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीको नियम २५, २६, २७ र २८ मा राफसाफ प्रणालीबारे व्यवस्था गरिएको छ जसमध्ये नियम २७ ले सेटल्मेन्ट ग्यारेन्टी फण्डको व्यवस्था गरेको छ । यसमा धितोपत्र व्यवसायीले कारोबार सेटलमेन्ट गर्न नसकेमा कोषमार्फत गर्ने र पछि सावा र ब्याजसहित असुलउपर गर्ने व्यवस्था छ । राफसाफ कोषमा धितोपत्र सेवा प्रदान गर्ने संस्था र धितोपत्र दलाल राफसाफ कोषमा धितोपत्रले प्रत्येक वर्षको मुनाफाको पहिलो ५ वर्षसम्म ०.५ प्रतिशत र त्यसपछि ०.२५ प्रतिशत रकम कोषमा बुझाउनुपर्ने व्यवस्था नियमावलीले गरेको छ ।
यस्तो कोष नहुँदा कुनै कारणले शेयर राफसाफमा ढिलाई भएमा शेयर बिक्रेताले पैसा पाउन ढिलो हुने अवस्था थियो । तर कोष गठन भएपछि बिक्रेताले समयमै रकम प्राप्त गर्ने सुनिश्चितता प्राप्त हुनेछ ।